दौलतपुरघाटको झोलुङ्गे पुलको सपोर्टिङ पिल्लर भास्सिएपछि सांसद लक्ष्मण किशोर चौधरीद्वारा स्थलगत अनुगमन

टीकापुर, १३ साउन । सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुरस्थित दौलतपुरघाटमा निर्माण गरिएको झोलुङ्गे पुलको पहुँचमार्ग (स्लोप) का सपोर्टिङ पिल्लर भास्सिएको घटनापछि स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा पुलको वारिपट्टि रहेको एक वटा तथा पारिपट्टि रहेका तीन वटा उक्लिने–ओर्लिने स्लोप सिँढीका सपोर्टिङ पिल्लर भास्सिएको पाइएको थियो। उक्त अवस्थाले पुलको पहुँचमार्गमा जोखिम बढ्न सक्ने देखिएकाले तत्काल आवश्यक पहल गरिएको सांसद चौधरीले जानकारी दिनुभयो।
उहाँले निर्माणको जिम्मा लिएको निर्माण कम्पनीसँग सम्पर्क गरी घटनाबारे जानकारी गराउँदै क्षतिग्रस्त संरचनाको तत्काल प्राविधिक मूल्याङ्कन गरी आवश्यक मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ।
यसैबीच, सांसद चौधरीले इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुखसँग पनि छलफल गर्नुभएको छ। उहाँले पुल आसपासका क्षेत्रमा हुन सक्ने अनुचित गतिविधि नियन्त्रण गर्न, सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी बिट स्थापना वा जनशक्ति थप गरी सुरक्षा व्यवस्था सुदृढ बनाउन आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराउनुभएको हो।
स्थानीयवासीको आवतजावतका लागि महत्त्वपूर्ण मानिएको उक्त झोलुङ्गे पुलको पहुँचमार्गमा देखिएको समस्या समयमै समाधान गर्न सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा सांसद चौधरीले जोड दिनुभएको छ। उहाँले सार्वजनिक पूर्वाधारको गुणस्तर, नियमित अनुगमन र समयमै मर्मतसम्भारमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
