घटना

२४ घण्टामै आमा–छोराको मृत्यु : वैदेशिक रोजगारीको सपना पछ्याउँदै गर्दा परिवारमा बज्रपात

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ , ७ भाद्र । वैदेशिक रोजगारीका लागि फ्रान्स जाने सपना बोकेर काठमाडौंमा अध्ययन गरिरहेका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको हत्या भएको २४ घण्टा नबित्दै उनकी आमाको समेत मृत्यु भएको छ। छोराको मृत्युको खबर सुनेपछि आमाको पनि ज्यान गएपछि कालाथोकी परिवारमा ठूलो बज्रपात परेको छ।

वसन्त रोजगारीका लागि फ्रान्स जाने तयारीमा थिए। त्यसका लागि उनी पछिल्लो ५/६ महिनादेखि काठमाडौंको शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’मा बसेर अध्ययन गर्दै आएका थिए। तर शुक्रबार होस्टलमै उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार होस्टलमै बस्दै आएका बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवले वसन्तको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका वसन्तलाई अचेत अवस्थामा काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

घटनापछि प्रहरीले हत्या आरोपमा संलग्न दुवै जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार शेखरलाई काठमाडौं र फरार रहेका प्रमितलाई शनिबार दिउँसो मकवानपुरबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छोराको हत्या भएको खबरले भने दाङमा रहेको परिवारलाई अर्को ठूलो शोकमा डुबाएको छ। शनिबार दिउँसो करिब ३ बजेतिर वसन्तकी ३८ वर्षीया आमा बिना कालाथोकीको समेत मृत्यु भएको हो।

घोराही उपमहानगरपालिका–१७ स्थित जनप्रिय टोलमा घरमै रहेकी बिनाले छोराको मृत्युको खबर सुनेपछि ज्यान गुमाएको परिवारजनले बताएका छन्। वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनालाई सुरुमा छोरा गम्भीर बिरामी भएको जानकारी मात्र दिइएको भए उनको ज्यान जोगाउन सकिने अवस्था हुन सक्ने स्थानीयको भनाइ छ।

घटनाको जानकारी पाएपछि चौघेरा प्रहरी पोस्टका प्रहरी सहायक हवल्दार अमर गैह्रे र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शनिबार बेलुकी करिब ४ बजे बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखेको छ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बिनाका श्रीमान् रोमहर्ष कालाथोकी सोमबार घर फर्किएपछि मात्र उनको पोस्टमार्टम गरिने वडाध्यक्ष चौधरीले बताएका छन्।

एकातिर काठमाडौंमा २२ वर्षीय छोराको हत्या र अर्कोतिर त्यसको केही घण्टामै दाङमा आमाको मृत्यु भएपछि कालाथोकी परिवारमा अकल्पनीय शोक छाएको छ। २४ घण्टाभित्रै आमा र छोरा गुमेपछि परिवार थप संकटमा परेको छ।

वसन्तका ११ वर्षीय कान्छा भाइ शिशिरसमेत अभिभावकविहीन बनेका छन्। हाल उनलाई हजुरबुबाले आफ्नो साथमा राखेका छन्।

वैदेशिक रोजगारीको सपना बोकेर भविष्य निर्माणको तयारीमा रहेका वसन्तको जीवन अचानक अन्त्य भएपछि परिवारले ठूलो क्षति व्यहोर्नुपरेको छ। एकैसाथ आमा र छोरा गुमाएको कालाथोकी परिवार अहिले शोकमा डुबेको छ भने घटनाले स्थानीयवासीलाई समेत स्तब्ध बनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।