नेपालमै बनेको विद्युतीय स्कुटर पी-टुको प्रि-बुकिङ खुला

काठमाडौं । नेपालमै बनेको विद्युतीय स्कुटर ‘यात्री पी-टु’ को आधिकारिक प्रि-बुकिङ खुला भएको छ । मङ्गलबारदेखि सुरु भएको नाडा अटो शोको अवसर पारेर कम्पनीले पाँच हजार रुपैयाँ धरौटी रकममा यस स्कुटरको बुकिङ लिन थालेको हो ।
स्कुटरको आधिकारिक मूल्य भने सेप्टेम्बरको पहिलो वा दोस्रो साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ । मूल्य सार्वजनिक भएपछि चित्त नबुझेमा ग्राहकले बुकिङ रकम पूर्ण रूपमा फिर्ता पाउनेछन् ।
हाल नाडा अटो शोमा ग्राहकको अपेक्षा बुझ्न ‘गेस द प्राइस’ अभियान चलाइरहेको कम्पनीले बुकिङ गरेका ग्राहकलाई आगामी अक्टोबरको मध्यसम्ममा स्कुटर डेलिभरी दिने लक्ष्य राखेको छ ।
यात्री पी-टुको आकर्षक पक्ष भनेको यसको कस्टमाइजेसन सुविधा हो । कम्पनीले स्कुटरको एउटा स्ट्यान्डर्ड भेरियन्टको मात्र मूल्य सार्वजनिक गर्नेछ । तर ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसारका फिचर आफै रोजेर थपघट गर्न सक्नेछन् ।
यात्रीको आधिकारिक वेबसाइट मार्फत ग्राहकले ब्याट्रीको क्षमता, फास्ट चार्जर, स्मार्ट एप कनेक्टिभिटी, क्रुज कन्ट्रोल, टायर तथा रङ जस्ता फिचर कस्टमाइज गरी आफ्नो इच्छा अनुसारको स्कुटर तयार पार्ने स्वतन्त्रता पाउनेछन् । साधारण प्रयोगकर्तादेखि प्रविधिप्रेमीसम्म सबैका लागि उपयोगी हुने गरी स्कुटर कस्टमाइज गर्न सकिने प्रबन्ध मिलाइएको कम्पनीको भनाइ छ ।
पी-टुमा ३.०, ३.७ र ५.२ किलोवाट आवर गरी तीन प्रकारका ब्याट्री विकल्प उपलब्ध छन् जसले क्रमश: ९०, ११२ र १५७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसका साथै थप ५० किलोमिटर रेन्ज बढाउनका लागि १.८ किलोवाट आवरको ‘रेन्ज एक्सेन्डर’ ब्याट्री प्याक पनि जोड्न सकिनेछ । ५.२ किलोवाट आवरको ब्याट्रीमा रेन्ज एक्सेन्डर प्रयोग गर्दा यसले अधिकतम २०७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।
६ देखि १० किलोवाटसम्मको पिक पावर मोटर र ३१५ एनएम ह्विल टोर्क रहेको यस स्कुटरको अधिकतम गति ९० किमी प्रतिघण्टा छ । यसमा रहेको डीसी फास्ट चार्जिङले ४१ मिनेटमै ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
यसमा ७ इन्चको टीएफटी डिस्प्ले, फोरजी कनेक्टिभिटीका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा उपलब्ध छ । उकालोमा सहज सवारीका लागि ‘माउन्टेन होल्ड’, स्कुटर लडेको थाहा पाउने ‘फल डिटेक्सन’, रिजेनेरेटिभ ब्रेकिङ, ट्र्याकर र टायर प्रेसर मनिटरिङ जस्ता सेक्युरिटी फिचर यसमा समावेश छन् । ३० लिटरको बुट स्पेस, १६५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४० केजी तौल रहेको यस स्कुटरको ब्याट्रीमा कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
