नौ वर्षीय श्रीयांशको ठूलो मन, तीन वर्षको खुत्रुके फुटाएर बाढीपीडितलाई ४७ हजार सहयोग

हेटौडा, भदौ १६ । उमेर नौ वर्ष। तर विपद्मा परेका नागरिकप्रतिको संवेदना भने उमेरभन्दा निकै ठूलो। हेटौँडा उपमहानगरपालिका–५ का नौ वर्षीय श्रीयांश श्रेष्ठले आफूले तीन वर्षदेखि खुत्रुकेमा जम्मा गर्दै आएको रकम बाढीपहिरोपीडितका लागि सहयोग गरेका छन्।
बाढीपहिरोका कारण घरबार गुमाएका नागरिकका भिडियो सामाजिक सञ्जालमा देखेपछि श्रीयांशको मनमा पीडितका लागि केही गर्ने सोच पलायो। त्यसपछि उनले आफ्नो खुत्रुकेमा जम्मा भएको रकम सहयोग गर्ने निर्णय लिए।
‘तीन वर्षदेखि खुत्रुकेमा पैसा जम्मा गरेको थिएँ। बाढीपहिरोबाट घरगोठ गुमाएका मानिसलाई यो पैसा दिन चाहन्छु,’ श्रीयांशले भने, ‘सानोभन्दा सानो सहयोग पनि गर्न सकिन्छ। त्यही भएर खुत्रुके फुटाएको हुँ।’
छोराको इच्छालाई परिवारले पनि साथ दियो। श्रीयांशको बचत र परिवारको सहयोगसमेत जोडेर रु ४७ हजार ५८० बराबरको राहत सहयोग गरिएको उनका बुबा सिरञ्जी श्रेष्ठले जानकारी दिए।
उक्त रकममध्ये रु २० हजार ९७० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। बाँकी रकमबाट भाँडाकुँडालगायत आवश्यक राहत सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत बाढीपहिरो प्रभावित क्षेत्रमा पठाइएको छ।
स्थानीय बाल जागृति विद्यालयमा कक्षा ३ मा अध्ययनरत श्रीयांशका लागि खुत्रुके केवल पैसा जम्मा गर्ने ठाउँ थिएन। त्यही खुत्रुकेमा उनले आफ्ना साना–साना चाहना पूरा गर्न बचत गर्दै आएका थिए। तर विपद्मा परेका मानिसको पीडा देखेपछि उनले आफ्ना चाहनाभन्दा पीडितको आवश्यकता ठूलो ठाने।
उनको यो कदमले सहयोग गर्न उमेर, हैसियत वा ठूलो रकम नै चाहिन्छ भन्ने होइन, सहयोग गर्ने मन भए सानो बचतले पनि ठूलो अर्थ राख्छ भन्ने सन्देश दिएको छ।
नौ वर्षीय श्रीयांशले खुत्रुके फुटाएर दिएको रकमको मूल्य केवल ४७ हजार ५८० रुपैयाँमा सीमित छैन। उनको सानो उमेरमा देखिएको ठूलो मानवीय भावनाले विपद्का बेला एकअर्काको दुःखमा साथ दिनुपर्ने संस्कारको सुन्दर उदाहरणसमेत प्रस्तुत गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
