राष्ट्रिय समाचार

उद्धारस्थलबाट फिर्ता बोलाइएपछि सांसद सागर ढकालको दुःखेसो : ‘सकेको गर्‍यौ’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । उद्धारस्थलमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं इन्जिनियर सागर ढकालले पार्टीले आफूलाई उद्धारस्थलबाट फिर्ता बोलाएपछि सामाजिक सञ्जालमार्फत दुःखेसो व्यक्त गरेका छन्।

उद्धार अभियानमा आफ्नो टोलीले सक्दो प्रयास गरेको उल्लेख गर्दै ढकालले मानवीय हिसाबले उपलब्धि आंशिक भए पनि इन्जिनियरिङ दृष्टिले भने विशुद्ध नेपाली प्राविधिक जनशक्तिको प्रयासबाट ठूलो सफलता हासिल भएको दाबी गरेका छन्।

उनले उद्धारस्थलमा सबै पक्षबीच सहयोग र सहकार्य रहेको बताए। तर सञ्चारमाध्यममा अत्यधिक नकारात्मकता फैलिँदा फिल्डमा काम गर्न केही हदसम्म कठिनाइ भएको उनको गुनासो छ।

“फिल्डमा सबैको सहयोग थियो, सहकार्य थियो। तर मिडियामा यति नकारात्मकता फैलाइयो कि काम गर्न केही हदसम्म डिस्टर्बचाहिँ भयो,” ढकालले भनेका छन्।

उनले आफ्ना वरिष्ठ पार्टी नेतृत्वसमेत मिडियामा आएका नकारात्मक सूचनाको प्रभावमा परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। “सिनियर पार्टी लिडर शुद्ध मिडियाकै लहैलहैमा लाग्नुपर्‍यो,” उनले उल्लेख गरेका छन्।

उद्धार अभियानमा केही समय अझै ढिलाइ भएको भए परिणाम असफल हुन सक्ने जोखिम रहेको उनको भनाइ छ। “अझै २४ घण्टा ढिलो भएको भए असफल पनि हुन सक्थ्यौँ। भगवान्ले अन्तिममा पुकार सुन्नुभयो, जोगाउनुभयो,” ढकालले भनेका छन्।

उनले विपद्का बेला फिल्डमा खटिने प्राविधिक तथा उद्धारकर्मीको मनोबल कमजोर बनाउने गरी टिप्पणी नगर्नसमेत आग्रह गरेका छन्।

“देश साँच्चै बनाउन मन छ भने सकिन्छ। सकारात्मक सोचौँ। सकिँदैन भने फिल्डमा रातदिन खटिँदा घरभित्र बसेर मजाक कसैको पनि नगरौँ,” उनको आग्रह छ।

उद्धार अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै ढकालले कठिन परिस्थितिमा साथ दिने सम्पूर्ण व्यक्ति तथा निकायलाई धन्यवादसमेत दिएका छन्।

उनको अभिव्यक्तिले विपद् उद्धारजस्तो संवेदनशील कार्यमा फिल्डमा खटिने प्राविधिक टोली, राजनीतिक नेतृत्व र सञ्चारमाध्यमबीचको समन्वय तथा जिम्मेवार सूचना प्रवाहको विषयलाई पुनः चर्चामा ल्याएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।