पिठ्युँमा बच्चा बोकेर मत माग्दै उम्मेदवार

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्ष पदका उम्मेदवार २७ वर्षीय मीना विश्वकर्मा दूधेबच्चा पिठ्युँमा बोकेर घरदैलोमा छिन् ।
गरिब तथा विपन्न परिवारकी मीनालाई चुनाव लड्न आर्थिक र पारिवारिक रूपमा सहज थिएन । उम्मेदवार विश्वकर्माले भनिन्, “मसँग पैसा थिएन तर पार्टीले सम्मान गरेर टिकट दियो । उच्च मनोबलसाथ चुनावी मैदानमा उत्रिएकी छु । विश्वास छ– मलाई जनताले विजयी गराउनेछन् ।”
एउटा हातमा पार्टीको झन्डा अर्को हातमा झोला । पिठ्युँमा तीन वर्षको छोरा बोकेर चुनावी मैदानमा उत्रिएकी उनलाई पार्टीका जिल्लास्तरका नेता तथा कार्यकर्ताको बलियो साथ र सहयोग मिलेको छ । माध्यमिक तहसम्मको अध्ययन पूरा गरेकी विश्वकर्मा दूधेबालक बोकेरै गाउँपालिकाका विकट बस्ती कुइनेमङ्गले, चिमखोला, पाखापानीलगायतका गाउँमा घरदैलो गरिरहेकी छन् ।

रघुगङ्गामा गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदमा भवबहादुर भण्डारी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट प्रेमबहादुर कार्की छन् । त्यस्तै, स्वतन्त्रबाट सागर भण्डारी प्रतिस्पर्धामा छन् । मतदाताको घर–घरमा पुगेकी मीनालाई स्थानीयवासीले खुट्टा ढोगेर विजयीको शुभकामनासमेत दिएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
