घटना

अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमाबाबुसहित परे दुर्घटनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन थियो ।

बिज्ञापन

सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवार जहाज दुर्घटनामा परेका हुन् ।

अमेरिकामा पढ्दै आएका दुई छोरीहरू छुट्टी मनाउन नेपाल आएका थिए । उनीहरू वैशाख ३० मा काठमाडौं ओर्लिएका थिए ।

छोरीहरू २३ वर्षकी रोजिना श्रेष्ठ, २० वर्षकी रविना श्रेष्ठ र श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठसहित गणेशनारायण मुक्तिनाथ दर्शन गर्न जाने क्रममा तारा एयरको जहाज दुर्घटनामा परेका छन् ।

वडाध्यक्ष यमबहादुर रानाले एकै घरका चार जना जहाज दुर्घटनामा परेको खबर आएको बताए । उनकाअनुसार अमेरिकामा रहेका छोरा करिब २६ वर्षका रोशन श्रेष्ठ भने स्वदेश फर्कदैछन् ।

‘आमा–बुवा र बहिनीहरू जहाजमा परेको खबरपछि रोशन अमेरिकाबाट नेपाल आउँदैछन्,’ वडाध्यक्ष रानाले भने, ‘मंगलबार बिहान रोशन काठमाडौं उत्रनेछन् ।’

रोशन करिब पाँच वर्षअघि पढाइकै सिलसिलामा अमेरिका पुगेका थिए । तीन वर्षअघि रोजिना र एक वर्षअघि रविना अमेरिका गएको राना बताउँछन् । उनीहरू पनि पढाइकै लागि अमेरिका गएका हुन् ।

गणेशनारायणको परिवार तारा एयरको जहाज हराइरहेको खबरपछि उनका गोरखास्थित छिमेकी विजय पुडासैनी, गाउँपालिका अध्यक्ष रमेश थापालगायत केही गाउँलेहरू आइतबार पोखरा पुगेका थिए ।

‘रोजिना र रविना अमेरिकामै पढ्ने हो । उनीहरू छुट्टीमा नेपाल आएका थिए,’ पुडासैनीले भने, ‘रोजिनाले पिएचडी गर्दै थिइन्, रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन् ।’ उनीहरू पहिले भने बुढानिलकण्ठ स्कुल पढेका थिए ।

‘मुक्तिनाथ दर्शन र त्यहाँ पुगेका बेला कम्पनीका पनि केही काम गर्न उहाँ जानुभएको भन्ने बुझियो,’ उनले भने, ‘तर गन्तव्यमा पुग्न नपाई जहाज दुर्घटनामा प¥यो।’ गणेशनारायणको परिवारले जहाजमा चढ्नुअघि अमेरिकामा रहेका छोरासँग कुराकानी पनि गरेका थिए।

गणेशनारायण २०४३ सालदेखि काठमाडौंको पुतलीसडकमा बस्दै आएका थिए। उनको स्थायी घर भने गोरखा तीनमानेमा छ। ‘उहाँहरू मुक्तिनाथ दर्शन गरेर फर्केपछि गोरखास्थित घर पनि जाने कुरा रहेछ, तर पाउनुभएन,’ उनले भने ।

तारा एयरको ९ एन एइटी जहाजमा उनीहरूसहित २२ जना थिए ।

जहाज क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेलले उडाएका थि ए। एयर होस्टेस कृष्मी थापा थिइन् भने १९ जना यात्रु थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।