घटना

८ छात्रामाथि यौन दुर्व्यवहारको आरोपी शिक्षक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनकुटा । छात्राहरूलाई यौन दुर्व्‍यवहार गरेको आरोप लागेपछि धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा आइतबार दिउँसो उजुरी परेको थियो। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घट्नापछि शिक्षक राई फरार रहेका थिए। राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ।

बिज्ञापन

प्रहरीले राति ९ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। फरार शिक्षकलाई घटनाबारे विद्यालयमा छलफल गर्न योजनावद्ध ढंगले बोलाएर छात्र–छात्रा र अभिभावकहरुले घेराउ गरेर राखिएको अवस्थामा प्रहरीले गिरफ्तार गरेको एसपी अधिकारीले बताए।

राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरुलाई मैया भनेर जिस्क्याउने, ब्राको इलास्टिक तन्काई दिने, संवेदनशील अंगमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ।

धनकुटाको सहिदभूमि गाउँपालिका–३ कुङलाङ घर भएका ४० वर्षीय राई २०६५ सालदेखि उक्त विद्यालयमा राहत दरबन्दीमा रहेर गणित विषय पढाउँदै आएका छन्।  शिक्षक राईले विगत १ वर्षदेखि त्यस्तो व्यवहार गरेको र पछिल्लो समय असार २१ गते बालिकाहरु विद्यालयमा एक शिक्षिकाको जन्मदिन मनाउने क्रममा एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि घटना बाहिरिएको हो।

शिक्षक राईलाई बाल यौन दुरुपयोग मुद्दामा राईविरुद्ध प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। सो विषयमा मुलुकी ऐन अपराधसंहिता २०७४ को दफा २२५ अन्तर्गत कसुरमा अदालतसमक्ष मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।