राजनीति

अछाममा गठबन्धन नगर्ने काँग्रेसको आन्तरिक सर्कुलर

बिज्ञापन

अछाम । अछाममा स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुबिच चुनावी गठबन्धन प्रक्रिया सकसपूर्ण बन्दै गएको छ ।

सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच भागबन्डामा कुरा नमिले पछि चुनावी सहकार्यमा सकस देखिएको हो ।

आपसी सहमतिको प्रयासमा जुटेका तीन दलका नेताहरूले आ–आफ्ना दाबी नछोडेपछि अन्तिम टुङ्गो लगाउने जिम्मेवारी प्रदेशलाई दिने तय भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबिच चुनावी गठबन्धनको चर्चा चुलिँदै गर्दा नेपाली कांग्रेस अछामले माओवादी केन्द्र र एकीकृत समाजवादिसंग कुनै पनि तालमेल नगर्ने आन्तरिक सर्कुलर गरेको खुलेको छ ।

नेपाली कांग्रेस अछामका एक नेताका अनुसार गठबन्धनका नाममा काँग्रेसले कुनै पनि पालिकामा प्रमुख पद अन्य दललाई नदिने गरि आन्तरिक सर्कुलर गरि सकेको छ ।

बिज्ञापन

सोही सर्कुलर अनुसार नै नेपाली काँग्रेसको रामारोशन गाउँ कार्य समिति, साँफेबगर नगर कार्यसमिति र चौरपाटी गाउँ कार्य समितिले गठबन्धनका नाममा पालिका प्रमुख र उप प्रमुख अरू दललाई दिन नसकिने र पार्टीले निर्देशन जारी गरे पनि त्यसको खिलाफमा जाने भन्दै विज्ञप्ति प्रकाशित गरेका छन् ।

जिल्ला पार्टी नेतृत्वसँगको परामर्शमै पालिका कार्य समितिले विज्ञप्ति निकालेको स्रोतको दाबी छ ।

नेपाली काँग्रेसले यस अघिको स्थानीय निर्वाचनमा एक्लै लड्दा पनि जिल्लाका ४ वटा पालिकामा जितेको थियो ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका,कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा एक्लै विजयी भएको काँग्रेसले ती पालिकामा पार्टीलाई थप मजबुद बनाएको दाबी गर्दै गठबन्धन भए पनि अध्यक्ष र उपाध्यक्ष पद अरू दललाई कुनै पनि हालतमा स्विकार्ने छैन ।

अन्य बाँकी रहेका पालिकाहरूमा पनि आफ्नो पार्टी संगठन र बलियो हुनुका साथै जनघनत्व समेत काँग्रेसको पक्षमा रहेको दाबी गर्दै नेपाली कांग्रेस अछामले प्रमुख र उप प्रमुख पद बाहेकका पद मात्र माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिन सक्ने कांग्रेस अछामका शीर्ष नेताहरूबिच आन्तरिक सहमति भइसकेको बताइएको छ ।

नेपाली काँग्रेसले जिल्लाका १० वटा स्थानीय तह मध्ये माओवादी र समाजवादीलाई एउटा स्थानीय तहको पनि प्रमुख दिन नसकिने अडान राखेपछि हाल सम्म पनि गठबन्धन दलहरूबिच सहमति हुन नसकेको बुझिएको छ ।

नेपाली काँग्रेसले १० वटै स्थानीय तहका काँग्रेसको बलियो मतभार र प्रस्ट जित्ने आधार हुँदा हुँदै गठबन्धनको नाममा अध्यक्ष नै अरूलाई दिन नसकिने दाबी गरिरहेको छ ।

कुनै जनआधार नै नभएको जस्तै गरि नेपाली काँग्रेसले माओवादी र समाजवादीलाई प्रमुख पद दिन नसकिने प्रस्ट अडान राखेको छ ।

एक एक पालिका माग्दा समेत माओवादी र समाजवादीले नपाउने भएपछि अछाममा गठबन्धन हुने सम्भावना समेत न्यून हुँदै गएको छ ।

नेपाली काँग्रेसका अछामका महाधिवेशन प्रतिनिधि वेद प्रकाश तिमिल्सैनाले भने सहमतिका लागि प्रयास जारी रहेको र गठबन्धन कायम गरेरै जाने बताउनु भएको छ ।

काँग्रेसको पेलाइ र कुनै पालिकामा पनि प्रमुख पद नदिने अडान पछि माओवादी र समाजवादी सशङ्कित बनेका छन् ।

नेकपा एकीकृत समाजवादीले दाबी गरे अनुसार मतभार नभएको र अन्तिममा सबैजसोले एमालेलाई नै सघाउने भएकोले समाजवादीलाई प्रमुख सहितका पद दिन नसकिने रणनीतिमा काँग्रेस देखिएको छ ।

बिज्ञापन
बिज्ञापन