राष्ट्रिय समाचार

भारत भ्रमण नेपालको हितका लागि महत्वपूर्ण अनुभूत भइरहेको छ : प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण नेपालको हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको बताएका छन् ।

बिज्ञापन

चारदिने औपचारिक भारत भ्रमणको तेस्रो दिन शुक्रबार सामाजिक सञ्जाल टिवटरमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ताको तस्बिर पोष्ट गर्दै प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफ्नो चौथो भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण अनुभूत भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ण्डले भ्रमणका क्रममा पाएको न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि प्रधानमन्त्री मोदी र भारतीय जनताप्रति आभारसमेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।’

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन् । उनले इन्दौरको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाआजा समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् । प्रधानमन्त्री भोलि शनिबार नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

बिज्ञापन