काठमाडौ । स्थानीय तह निर्वाचनमा नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच विभिन्न चरणमा छलफल भएको एमाले नेता देवेन्द्र दाहालले बताए ।
‘चुनावी तालमेलबारे विभिन्न चरणमा छलफल भइरहेको छ । दुवै पार्टी चुनावी तालमेल गरेर जाने पक्षमा छौं,’ दाहालले भने ।

एमालेले राप्रपा नेपालसँग चुनावी तालमेलबारे टुंगो लगाउन दाहाललाई नै जिम्मेवारी दिएर वार्ता समिति बनाउने तयारी गरेको छ ।
राप्रपा नेपालबाट भने नेता सुशीलकुमार श्रेष्ठलाई वार्ता समितिको संयोजक तोकिएको राप्रपा नेपालका एक नेताले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदा प्रभाव रहेको स्थानीय तहमा राप्रपा नेपाल बन्दा पनि उत्तिकै प्रभाव रहेको र एमालेसँग चुनावी तालमेलका लागि छलफल भएको राप्रपाका एक नेताले बताए ।

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि पार्टीबाट अलग भएर राप्रपा नेपाल गठन गरेका थिए ।
एमालेको यसअघिको चुनावमा जितेको ठाउँमा राप्रपा नेपालले दाबी नगर्ने प्रारम्भिक सहमति बनेको नेताहरूले बताएका छन् ।
राप्रपा नेपाल नयाँ पार्टी भएकाले पनि धेरै ठाउँमा प्रभाव देखाउन एमालेसँग तालमेल गरेर चुनावमा जाने रणनीति बनाएको छ ।
एमालेविरुद्ध सत्तारूढ ५ दलीय गठबन्धन बन्ने भएपछि एमालेले गठबन्धनमा नरहेका साना दललाई समेटेर चुनावमा जाने रणनीति बनाएको छ ।
अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल