राजनीति

राजदूत पद बिक्रीमा छः डा. सुरेन्द्र केसी

बिज्ञापन

काठमाडौं, २५ चैत । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गठबन्धन दलले राजदूत पद आफ्ना, भाइ–भतिजा, ज्वाइँ–जेठान, छोरी–बुहारी, चनाचम्चामा भागबन्डा गर्नेदेखि करोडौंमा बिक्री गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. केसीले भने, “अहिले राजदूत पदमा ककसको ज्वाइँ परे भनेर खोजीनिती भइरहेको छ । गठबन्धन भनेकै लेनदेन र भागबन्डा हो । नेताहरुले सकेसम्म आफ्नै भाइ–भतिजा, ज्वाइँ–जेठान, छोरी–बुहारी, चनाचम्चा खोज्छन् । त्यो नभए करोडको हिसाबमा बिक्री गर्छन् । राजदूत पद बजारमा बिक्रीमा छ ।”
‘प्रोफेसन्नली साउन्ड’, जुन देशमा जाने हो, भाषा, धर्म, संस्कृतिमा पहुँच हुने व्यक्तिलाई राजदूत बनाउनुपर्नेमा म्यानपावर व्यवसायीलाई बनाएको पनि उनले औंल्याए । डा. केसीले भने, “मलाई हिजो अमेरिकाबाट खबर आयो । कमल थापा परराष्ट्र मन्त्री हुँदा म्यानमार तहको मुलुकलाई ५ करोड र अमेरिका तहमा ५० करोड तोकिएको थियो रे । सत्य कति हो, थाहा छैन तर असत्य हो भन्ने पनि लाग्दैन । वास्तवमा गठबन्धनले डाडुमा पानी तताएर मरे हुन्छ ।”
गैरसांसदलाई मन्त्री बनाउनुहुन्न भनेर अदालतमा मुद्दा हाल्ने व्यक्ति नै मन्त्री बनेको आरोप पनि उनले लगाए । डा. केसीले थपे, “गोविन्द बन्दीले गैर संसदीय व्यक्ति मन्त्री हुनुहुन्न भनेर मुद्दा हाल्नुभएको थियो । उहाँको मुद्दा अदालतमै विचाराधीन छ । आफैं हुनुहुन्न भनेर मुद्दा हाल्ने अनिआफैं मन्त्री बन्ने ? यो जयस्थिति मल्लको पालाको देश हो र ?”
स्थानीय तहको निर्वाचन स्वतन्त्र व्यक्तिको उम्मेदवारी जायज भए पनि जित्न गाह्रो हुने उनले बताए । उनले थपे, “राजनीति समाज बदल्ने प्रक्रिया हो भनेर बुझ्ने र बुझाउने कोही भएन । राजनीति निरपेक्ष र विकासमुखी भइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो तर जन्मँदै कांग्रेस, एमाले भएर जन्मने मुलुकमा स्वतन्त्र व्यक्तिले जित्नु कति सम्भव छ ? अहिले नै त्यो मत हावी होला जस्तो लाग्दैन ।” – साभार : रिपोर्टर्स नेपाल

बिज्ञापन
बिज्ञापन