बिश्व

रुससँग गठबन्धन नगर्न भारतलाई अमेरिकाको चेतावनी

बिज्ञापन

वासिङटन । अमेरिकाले रुससँग गठबन्धन नगर्न भारतलाई चेतावनी दिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि रुससँग निकट रूपमा साझेदारी नगर्न भारतलाई अमेरिकाले चेतावनी दिएको राष्ट्रपति जो बाइडेनका शीर्ष आर्थिक सल्लाहकारले बताए ।

बिज्ञापन

ह्वाइट हाउस नेसनल इकोनोमिक काउन्सिल डाइरेक्टर ब्रायन डिजले भारतको रुससँग थप स्पष्ट रणनीतिक गठबन्धनको लागत र परिणाम महत्त्वपूर्ण र दीर्घकालीन हुने चेतावनी दिएका हुन् । “भारत सरकारलाई हाम्रो सन्देश यो छ कि रुससँग थप स्पष्ट रणनीतिक साझेदारीमा गए त्यसको लागत र परिणाम महत्त्वपूर्ण र दीर्घकालीन हुनेछ,” डिजले भने ।
आक्रमणको सम्बन्धमा चीन र भारतको निर्णयबाट आफूहरू निराश भएको पनि उनले बताए ।

अमेरिकी उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले गएको हप्ता भारतको औपचारिक भ्रमण गरेपछि अमेरिकाको यस्तो धारणा आएको हो ।

ह्वाइट हाउसकी प्रवक्ता जेन पास्कीले दलीपले यस भ्रमणका क्रममा आफ्ना समकक्षीहरूलाई रुसी ऊर्जा र अरू वस्तुहरूको आयात बढाउनु भारतको हितमा छैन भन्ने स्पष्ट गरेको बताएकी थिइन् ।

भारतले रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ ।

ब्लुमबर्गका अनुसार एसियामा चीनलाई टक्कर दिने देशका रूपमा अमेरिकाले हेरेको भारत रुसी हतियारको सबैभन्दा ठूलो आयातकर्ता हो । बीबीसीबाट ।

बिज्ञापन