आस्था /आध्यात्म

नर र नारी एउटै परमात्माका सन्तान हुन– नर बहादुर रावल (अध्यक्ष–स.नि.म. नेपाल)

बिज्ञापन

ललितपुर । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले नर र नारी दुबै एउटै परमात्माका सन्तान हुन बताउनु भएको छ । ललितपुरमा आयोजित सत्संग कार्यक्रममा उहाँले नर र नारीमा कुनै भेदभाव छैन किनभने दुबैमा परमात्माको वास रहेको छ । जुन आत्माले परमपिता–परमात्मालाई जानेको छ त्यो आत्मा नै महान आत्मा हो, त्यही महान पुरुष हो । ब्रम्हज्ञानी सम्पूर्ण सन्तहरुलाई आज महापुरुषको उपाधी दिइएको छ । जुन आत्माले आफ्नो वास्तविक अंश परमात्मालाई चिनेको छ त्यो नै महान आत्मा हो, महान पुरुष हो । हाम्रो हेर्ने जुन दृष्टिकोण छ त्यो फरक नहोस, किनभने संसारमा कोहि कालो छ, कोहि गोरो छ, कोहि होचा छ, कोहि अग्लो आदि छ, तिनीहरुलाई हेर्ने दृष्टिकोण हाम्रो समान हुनु पर्दछ, कसैप्रति कुनै भेदभावको नजरले हेरिनु हुँदैन किनभने हामी सबै एउटै ईश्वरका सन्तान हौं उहाँले बताउनुभयो ।

जुन प्रकारले फूलबारीमा विभिन्न प्रकारका फूलहरु हुन्छन्, तिनीहरु बीच कहिल्यै कुनै प्रकारको टकराव हुँदैन, तिनीहरुले सौन्दर्य र सुगन्ध प्रदान गरिरहेका हुन्छन् । हामी मानव भएरपनि जात–पात, आश्रममा विभाजित भएर एकापसमा टकराई रहेका छौ । आज यस टकरावबाट बच्नको लागि सत्गुरुले हामीलाई ब्रम्हज्ञान दिएको छ । हामी सबै एक ईश्वरका सन्तान हौ भन्ने बोध हामीमा गराएको छ । त्यो ज्ञानको बोध हामीमा हुनु पर्दछ तबमात्र यो ब्रम्हज्ञान लिएको सार्थक हुनेछ, उहाँले बताउनुभयो ।

उहाँले धर्म र आध्यात्मिकताको बीचको फरकलाई प्रष्ट पार्दै भन्नुभयो कि धर्ममा अनेक सम्प्रदायहरु रहेका छन्, धर्ममा आपसी भेदभावको साथै लडाई–झगडा रहेको छ । एकले आफ्नो धर्म ठुलो हो भनेर अर्को धर्मलाई हेपिरहेको हुन्छ जसको कारण आज विश्वमा धर्मको नाममा लडाई–झगडा भइरहेका छन् । यसको ठीक विपरित आध्यात्मिकतामा कुनै लडाई–झगडा छैन यो विशाल छ, यसमा सबै जात–जाति, धर्म, सम्प्रदायका मानवहरु आवद्ध छन् । यहाँ आत्माले परमात्मालाई जान्ने विषयमा चर्चा गरिन्छ । परमात्मा विशाल भएकोले त्यसको बारेमा आध्यात्मिक क्षेत्रमा गहन छलफल गर्ने गरिन्छ र आत्मा एक परत्माको अंश भएकोले परमात्मालाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्ने गरिन्छ । परमात्माले नै यो सम्पूर्ण ब्रम्हाण्डको रचना गरेको हो । सूर्य, चन्द्रमा, तारा, आकाश, बायु, अग्नि, जल, थल, पशु, पंक्षी आदि जतिपनि जीव–वस्तु बनायो यी सबै नाशवान र परिवर्तनशिल छन् । यिनीहरु एक न एक दिन नाश भएर जाने छन् । सधैं रहने छैनन्, केवल यो परमात्मा मात्र अटल–अडिक, अविनाशी छ । हामी सबै यसैका अंश हौ । आध्यात्ममा यहि कुराको बर्णन गर्ने गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले अगाडि भन्नुभयो– आत्माले परमात्माको अंश हुँभन्ने कुरा आत्माले चिन्नु जरुरी छ, यसको जानकारी सत्गुरुले गराउने गर्दछ । परमात्माको नाम मात्र जपेर कुनै फाईदा हुँदैन जबसम्म यसलाई चिन्दैनौ । त्यसैले भनिएको छकि जसको पूजा, जसको भक्ति त्यसलाई जान्नु जरुरी छ । किनभने सुगा–मैनाले पनि भगवानको नामको रटन गरेर उच्चारण गरेको हुन्छ, तर त्यसलाई ईश्वरको कुनै जानकारी हुँदैन, त्यस्तै बिना ईश्वरलाई नजानेर गरिएको पूजा र भक्तिको कुनै सार्थकता हुँदैन । आज सत्गुरुको कृपाले परमात्मालाई जान्ने अवर मिलेको छ । जुन ज्ञान हामीले लिएका छौ यदि त्यो कर्ममा ढल्न गएको खण्डमा हाम्रो जीवनको श्रृंगार बन्ने छ । यही कुरालाई हामीले आत्म साथ गर्दै अडाडि बढ्नु पर्ने कुरामा जोड दिदै हामीले कसैको निन्दा, चुंगली, फटाहा गर्नु हुँदैन, सबैको प्रशंसा गर्नु गर्दछ । सधैं यस निराकारलाई अंगसंगमा देखेर कार्य गर्नु पर्दछ, हामीबाट कहिल्यै गलत कार्यहरु हुनुहुँदैन । हामीले कहिल्यै अरुलाई दुःख दिनु हुँदैन किनभने त्यस्तो गरेको खण्डमा त्यो हामीले पछि गएर भोग्नु पर्ने छ र हामी पनि त्यसै दुःखको चपेटा पर्न जाने छौ । सधैं तन, मन, धन ईश्वरको नै सम्झेर समर्पण गर्नु पर्दछ, जो ईश्वरले दिएको छ त्यसमा नै हामी सन्तोष हुन पर्दछ उहाँले बताउनुभयो ।

बिज्ञापन

ललितपुरमा अवस्थित सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनको घरमा आयोजित उक्त सत्संगं कार्यक्रममा सन्त निरंकारी मण्डलका केन्द्रीय सचिव अनिल महर्जन, सहसचिव नर बहादुर विश्वकर्मा, केन्द्रीय सल्लाहकार श्रीराम काफ्ले, सेवादलका क्षेत्रीय संचालक बाबुराजा महर्जन, गायक तेज बहादुर बोहरा, सन्त निरंकारी नेपाली मासिकका सम्पादक पूर्ण कुमाल लगाएत स्थानीय सन्तहरुले विचार तथा भजनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए ।

बिज्ञापन
बिज्ञापन