सहयोग तथा उदार

शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् !

बिज्ञापन

मात्र ७२ वर्ष ! क्यालेण्डर पल्टाउँदै जाने हो भने सुप्रसिद्ध अभिनेत्री शबाना आजमी मान्छेले बाँच्ने एक जुनीको उत्तरार्द्ध हुन् । तर, समयको आँखीझ्यालबाट हेर्दा उत्तरार्द्ध होइनन्, सुरूवात हुन् ।

बिज्ञापन

तपाईं कल्पिनुस्, आँखीझ्यालबाट के देखिँदैन ? अनन्तसम्मको बाटो देखिन्छ । त्यो बाटोमा अथक यात्रामा निस्किएका यात्री देखिन्छन् । ती यात्रीका काँधमा झाँसीकी रानीको हातमा चमचमाइरहेको तरबारजस्तो चहकिलो सपना देखिन्छ । त्यही सपनाको आरनमा उजिल्याइएका मुस्कान र मिहेनतका धारहरू देखिन्छन् । तिनका आँखाले नासाका वैज्ञानिकले नाप्ने प्रकाश वर्षभन्दा परसम्मको गन्तव्य देख्छन्, जहाँ क्यामेराको भाषामा कहीँकतै ब्लर देखिँदैन !

तिनै एक अद्भूत आँखीझ्याल हुन् आजमी । जसको आँखाबाट पहिलो बलिउड अभिनेत्री दुर्गाबाई कामतदेखि दीपिका पादुकोणसम्म देखिन्छन् । जसको आँखाबाट राजकपुर हुँदै नसिरुद्दिन शाहदेखि नवाजुद्दिन सिद्दिकीसम्म देखिन्छन् । जसको औँलामा जपमाला घुमेजसरी ब्ल्याक एण्ड ह्वाइट हुँदै रंगीन बलिउड फिल्मका रिल र इतिहास फनफनी घुम्छन् । जसको एक बोलीमा सिंगो बलिउड न्यायका खातिर एक सिंगो पृथ्वी फनफनी झैं घुम्छ । जसको एक ट्वीटले भारतीय सत्ताको निद्रा हराम गर्छ । जसको एक अन्तर्वार्ताले धर्मगुरुको खाइपाइ आएको भक्तजनलाई बिगार्छ ।

तिनै आजमी आँखामा तेजिलो ओज बोकेर, हृदयमा प्रेमील हिमनदीको खोँच बोकेर मण्डला थिएटरले आयोजना गरेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भागीदार भइन् । उनी आकर्षण भन्दा ज्यादा अतिथि थिइन् । ‘अर्थ’, ‘पार’, ‘गडमोदर’ जस्ता सिनेमाका साक्षत् अभिनेत्री थिइन् । जसलाई परख गर्न ७० र ८० को दशकका हिन्दी सिनेमाका वजनदार पात्रले जीवनको आरोह-अवरोहमा कहीँकतै प्रभावित गरेका सौम्य दर्शकहरू समेत साक्षत् थिए ।

फरक भूगोलको मौसमका कारण रुघाले खोकिरहेकी आजमीले सम्भवतः सुरूवातमा बोल्नुपर्ने थियो, ‘कोइ रिस्ता पक्का नही होती । मौत आती है तो पक्के से पक्का रिस्ता भी काँची माटी कि तरह टूट जाती हैं ।’

तर, त्यही रिस्ता, त्यही नाता पक्का गर्न मण्डला थिएटरमा आइपुगेकी थिइन् आजमी । जोसँग भावनात्मक रूपमा जोडिएकी थिइन्, तिनैसँग प्रत्यक्ष संवाद गर्न आइपुगेकी थिइन् । धेरै मानिसलाई उनी चिन्दिन थिइन् सायद । र तिनै मानिसका लागि सबैभन्दा धेरै मुक्तिको लडाइँ लड्न साहस दिएकी थिइन् सायद । नजाने, आजमीलाई सुन्न आइपुग्ने कति धेरै मानिसले हिँड्ने न्यायको बाटोको गोहो थिइन् उनी ।

उनले पाएका सम्मानको पोको फुकाउने हो भने उनको पटुकीबाट बग्रेल्ती खस्छन्, भारतको प्रतिष्ठित् पद्मश्री, पद्मभूषण र राष्ट्रिय अवार्डहरू । तर, उनको पटुकीमा ती सम्मानभन्दा ज्यादा न्यायका खातिर उठेका बलिया मुठ्ठीहरू खसिरहेका थिए, जसलाई स-सम्मान ग्रहण गर्न समुपस्थित दर्शकहरू थिए ।

बिज्ञापन