स्वास्थ तथा सरसफाइ

गर्मीले बढायो टाइफाइड र झाडापखाला, टेकु अस्पतालमा दैनिक ३ सय बिरामी

बिज्ञापन

काठमाडौं : केही दिनयता बढ्दै गएको गर्मीका कारण भाइरल ज्वरो, टाइफाइड र झाडापखालाका बिरामी बढेका छन्।

गर्मी बढेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक सातायता टाइफाइड, भाइरल ज्वरो र झाडापखालाका बिरामीको संख्या पनि बढ्दै गएको अस्पतालले जनाएको छ।

अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेका अनुसार यो हप्ता अस्पतालमा टाइफाइड, भाइरल ज्वरो र झाडापखाला तथा रुघाखोकीका बिरामी बढेको छ।

उनका अनुसार अस्पतालमा भएको रेकर्डबाट यो हप्ता दैनिक ३ सयदेखि साढे ३ सयसम्म टाइफाइड, भाइरल ज्वरो र झाडापखाला तथा रुघाखोकीका बिरामी अस्पतालमा उपचार गराउन आएका छन्।

बिज्ञापन

‘पानी नपरेको र केही दिनयता बढ्दै गएको गर्मीका कारण ज्वरो तथा झाडापखालाका बिरामी ह्वात्तै बढेका छन‚ ज्वरोका धेरै बिरामीमा त टाइफाइडसमेत देखिएको छ‚’ ओपिडी इन्चार्ज पाण्डेले भने।

जल मौसम पूर्वानुमान महाशाखाका अनुसार पनि पछिल्लो दिनमा काठमाडौं उपत्यकामा ह्वात्तै गर्मी बढेको छ। शुक्रबार मात्रै काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री पुगेको छ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार चर्को गर्मी तथा खानपानको कारण ज्वरो तथा झाडापखालाका बिरामी ह्वात्तै बढेको बताए।

उनले भने, ‘गर्मी बढेर होला एक सातायता अस्पतालमा ज्वरो, टाइफाइड र झाडापखालाका बिरामी धेरै आउन थालेका छन्। यसको प्रमुख कारण भनेको बढ्दो गर्मी तथा अस्वस्थ खानपान नै हो।‘

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पानीजन्य संक्रमण रोगसम्बन्धी फोकल पर्सन उपेन्द्र ढुङ्गानाका अनुसार गर्मी बढ्दै गएको र झाडापखालाको जोखिम बढेको हुँदा सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन पत्राचार गरिएको बताए।

गत वर्षहरूको तुलनामा यस वर्षको एक महिनायता देशभर झाडापखालाका बिरामी आँकलन गरिए भन्दा बढी देखिएकले सतर्कता अपनाउन थालिएको छ। उनका अनुसार दुई/तीन वर्षको अवस्था हेर्दा नेपालमा हैजा र झाडापखाला संक्रमण बढेको छ।‘

‘केही दिनअघि तनहुँको आँबुखैरेनी गाँउपालिकामा झाडापखालाका बिरामी देखिएको विवरण आएको थियो। अहिले त्यो नियन्त्रणमा आइसक्यो तर पछिल्लो केही दिनयता गर्मी बढ्दै गएको छ। चर्को गर्मीपछि पानी पर्ने हुन्छ‚ यस्तो मौसममा झाडापखालाको जोखिम बढ्छ। त्यसैले हामीले उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई पत्रचार गरेका छौँ, आइतबार पनि यसै विषयमा काठमाडौं लगायतका स्थानीय तह संग छलफल गर्दै छौं‚’ ढुङ्गानाले भने।

यसकारण बढ्दै छन् भाइरलका बिरामी

डा पुनले बिषादीयुक्त फलफूल सेवनले पनि झाडापखालाका बिरामी बढेको बताए।

‘यो मौसम आँपको हो। अस्पतालमा आएका झाडापखालाका बिरामीसँग पखाला हुनुपूर्व के खानु भएको थियो भनेर सोध्दा आँप भन्नु हुन्छ। काठमाडौंमा प्रायः आँप तराईबाट आउँछ। यसरी ल्याइएका आँपहरुमा छिटो नबिग्रियोस् भनेर विभिन्न प्रकारका बिषादीयुक्त औषधी राखिएको हुन्छ। त्यही आँप राम्रोसँग नपखाली हामीले खान्छौँ र पखाला सुरु हुन्छ‚’ डा पुनले भने।

यस्तै बाहिरी तापक्रम धेरै हुने भएकाले यो समयमा भाइरलजन्य संक्रमणका बिरामी बढ्दै बढेको बताए। अहिले विशेषगरी बासी खानेकुरा नखाने, भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खानुपर्ने र ज्वरो बढ्दै गएमा तुरुन्त अस्पताल जानुपर्ने डा पुनको सुझाब छ।

प्रायः यो मौसममा सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। यो मौसममा  उच्च तापक्रमसँगै अधिक मात्रामा वर्षा हुने भएकाले हामीले खाने पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।

वर्षातमा दूषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानीको सेवन  नगर्नु हो। अर्को यस मौसममा बासी खाने कुरा र नपाकेको र काँचो खानेकुरा खानुहुँदैन।

‘सकेसम्म अहिले घरबाहिरका पानीपुरी, चटपटे तथा बासी खानेकुरा खानु हुँदैन यस्तै गर्मी धेरै भएकाले उमालेको पानी प्रशस्त मात्रामा पिउनु पर्छ‚’ डा पुनले भने।

बिज्ञापन
बिज्ञापन