राष्ट्रिय समाचार

बाजुरामा बजार अनुगमन : ९१ हजार बराबरका अखाद्य सामग्री नष्ट

बिज्ञापन

बाजुरा । बजारमा विक्रिमा राखिएका ९१ हजार रुपैयाँ मूल्य बराबरका मानव स्वास्थ्यलाई हानि गर्ने र अखाद्य सामग्री नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग डोटीको आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा गरेको अनुगमनका क्रममा फेला पारिएका सामग्रीहरु नष्ट गरिएको हो ।
बजार अनुगमनका क्रममा दुई दिनमा मार्तडी बजार र बाम्का क्षेत्रका विभिन्न पसलबाट म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । संयुक्त बजार अनुगमन टोलीले मार्तडी बजारका पसलबाट ६६ हजार ४ सय ९५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ ।

त्यस्तै बाम्का र फालासैन लगायतका बजार गरिएको अनुगमनमा पसलबाट २४ हजार ६ सय ७५ बराबरको लेबल नभएका र म्याद नाघेका सामानहरु बरामद गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ दुई दिनको अवधिमा ९१ हजार १ सय ७० बराबरको अखाद्य सामान नष्ट गरिएको छ । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुर्जेका सामग्री विक्रि वितरणमा रोक लगाउने उद्देश्यले अनुगमन गरिएको हो ।

व्यपारीलाई म्याद नाघेका सामाग्री विक्रि नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गर्दै बजार अनुगमन अभियानलाई तिब्रता दिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताएका छन् । अनुगमनले गर्दा व्यापारी र उपभोक्ता दुबै सचेत हुने विश्वास गरिएको उनले बताए ।

बिज्ञापन

दुई दिन गरिएको अनुगमनमा सबैभन्दा बढी म्याद नाघेको सुजी भेटिएको बताईएको छ । सुपरपावर सुर्ती विक्रि वितरण गर्न नपाउँने व्यवस्था भएपनि बाजुरामा भने अत्याधिक मात्रमा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रमुख सागर दाहलले बताएका छन् ।

उनकाअनुसार यस विषयमा व्यापारीलाई सचेत गराईएको छ, उपभोक्ताले पनि उपभोग गर्दा ध्यान दिनुपर्ने र सकेसम्म स्वास्थ्यका लागि हानिकार पदार्थहरु सेवन नगर्न आग्रह उनले गरेका छन् । पछिल्लो समय कालोबजारी मौलाउन र अखाद्य सामग्रीहरु विक्रि वितरण गर्ने गरेको भेटिन थालेपछि बाजुरामा बजार अनुगमनलाई तिब्रता दिएको हो ।

बजार अनुगमन अभियनालाई बाजुरामा निरन्तरता दिईने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्ला सदरमुकाम मार्तडी, बाम्का, फालासैन लगायतका बजारका पसलमा अनुगमन गरिसकेको र अब बाकी रहेको बजारहरु अनुगमन गर्ने बताईएको छ । केही दिन अगाडी कोल्टी क्षेत्रका बजार पनि अनुगमन गरी म्याद नाघेका र लेबल नभएका सामग्री बरामद गरी नष्ट गरिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी, जिल्ला प्रशासन कार्यालय बाजुरा, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय बाजुरा, जिल्लामा सञ्चाललित विभिन्न मिडियामा कार्यरत्त सञ्चारकर्मीहरुको उपस्थितिमा बजार अनुगमन गरिदै आएको छ । बाजुरामा रहेका बजारहरु नछुट्याई अनुगमन गरिने लक्ष्यसहित संयुक्त अनुगमन अभियान अगाडी बढाईएको हो ।

बिज्ञापन
बिज्ञापन