राजनीति

बाँकेमा पाँच पालिका जित्ने एमालेको दाबी

बिज्ञापन

कोहलपुर । नेकपा एमालेले बाँकेका आठ पालिकामध्ये पाँच पालिकामा जित्ने दाबी गरेको छ । पार्टीको संगठन विस्तार प्रभावकारीरुपमा अगाडि बढ्दै गएको र राष्ट्रवादी चिन्तन भएका नागरिक एमालेप्रति आकर्षित भएकाले बाँकेमा पाँच पालिकामा जित्ने एमालेले दाबी गरेको हो ।

बाँकेका नेता तथा केन्द्रीय सदस्य सूर्य ढकालले एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उक्त विषयको रिपोर्ट प्रस्तुत गरेका थिए । यसभन्दा अगाडि सम्पन्न स्थानीय तहको चुनावमा एमालेले चारवटा स्थानीय तहमा जित हासिल गरेको छ ।

कोहलपुर नगरपालिका, बैजनाथ, जानकी, खजुरा गाउँपालिकामा एमालेका उम्मेदवारले जितेका थिए । केन्द्रीय सदस्य ढकालले यसपटक नेपालगन्ज उपमहानगरपालिकामा समेत जित्ने दाबी गरे । नेपालगन्जमा नेकपा एमाले जित्ने आधार के हो ?

भन्ने प्रश्नमा उनी भन्छन्, ‘विभिन्न पार्टीबाट ६ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । २३ वटा र टोल कमिटी विस्तार गरेका छौँ । संगठन पहिलाको भन्दा बलियो बनेको छ ।’

बिज्ञापन

पार्टीका वर्तमान उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएको बेला नेपालगन्जको विकासका लागि ५० करोड लगानी गरिएको कुरालाई पनि नेपालगन्जमा एमालेले जित्ने आंकलन गरिएको उनको भनाइ छ ।

व्यावसायिक पृष्ठभूमि भएका र विभिन्न पार्टी हुँदै यही मंसिर १ गते पशुपति दयाल मिश्र एमालेमा प्रवेश गरेका थिए । वैशाख ३१ मा हुने निर्वाचनमा एमालेको तर्फबाट मेयरको एकल उम्मेदवारको रुपमा मिश्र मात्रै देखिएका छन् । यसैगरि गत निर्वाचनमा मेयर जितेका मेयर डा. धवलशमशेर राणाले एमालेलाई सहयोग गर्न सक्ने आंकलन गरिएको छ ।

उनी स्वयम् अहिले प्रतिनिधिसभा सदस्यका लागि आंकाक्षा देखाइरहेका छन् । राणाले एमालेलाई स्थानीय तह र एमालेले राणालाई संघको निर्वाचनमा सघाउने गृहकार्य सुरु भएको एमाले स्रोत बताउँछ । पार्टीका बाँके इन्चार्जसमेत रहेका ढकालले गत निर्वाचनमा नेपाली कांग्रेसले जितेका दुई पालिका पनि एमाले नै मुख्य प्रतिस्पर्धी रहेको जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन