बिश्व

बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका पाँच जना विजयी

बिज्ञापन

एजेन्सी । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका पाँच जना उम्मेदवार विजयी भएका छन् ।

बिज्ञापन

नेपालीमूलका लक्ष्मण गुरुङ, विष्णुबहादुर गुरुङ, जित रानाभाट, कमल गुरुङ र डाक्टर जगन्नाथ शर्मा निर्वाचित बनेका हुन् ।

बिहीबार भएको निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपालीमूलका उम्मेदवार बनेका थिए ।

उनीहरूमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलरमा विजयी भएका हुन् । निर्वाचित हुनेमा तीन जना सत्तारुढ कन्जरभेटिभ पार्टीका उम्मेदवार छन् भने दुई लेबर पार्टीका हुन् ।

लन्डनको हन्सलो बरोबाट पूर्वमेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित बने । लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

यस्तै, लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्षमण गुरुङ पुनः काउन्सिलरमा निर्वाचित भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार बनेका गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।

बेलायतको रोयल बरोबाट पहिलो पटक नेपालीमूलका उम्मेदवार काउन्सिलरमा निर्वाचित भएका छन् । रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एन्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेका रानाभाट विजयी भएका हुन् ।

इंग्ल्यान्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन् । कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए । उनले ५ सय ५१ मत प्राप्त गरेका थिए ।

लन्डनकै बार्नेट काउन्सिलको बन्ट्रओक वडाबाट पूर्वगोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन् । लेबर पार्टीका उम्मेदवार उनले २ हजार तीन सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे ।

देशभरको पूर्ण नतिजा भने अझै आउन बाँकी नै छ । समाचार तयार पार्दा सम्ममा प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ पार्टीले विगतमा जितेका सयौं ठाउँ गुमाएको छ । विपक्षी लेबर र लिबेरल डेमोक्र्याटले भने आफ्नो सिट संख्या बढाएका छन् ।

बिज्ञापन