अर्थ

भारतलाई बिजुली बेचेरै नेपालले कमायो ५५ दिनमा सवा ३ अर्ब

बिज्ञापन

काठमाडाैं | नदी प्रवाही आयोजनामा पानीको सतह बढेको र अधिकांश आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भएकोले नेपालले अतिरिक्त क्षमतामा बिजुली निर्यात गर्न थालेको छ । वर्षातको समय भएकोले विगतका वर्षहरूमा खेर जाने बिजुली यो वर्ष भने निर्यात गरेर आम्दानी भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । 

बिज्ञापन

नेपालले भारतसँग ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने गरी द्विपक्षीय विद्युत् व्यापार सम्झौता गरेको छ । नेपालले उक्त क्षमतामा बिजुली २४ सै घण्टा निर्यात गर्न सक्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । प्राधिकरणले फ्रिक्वेन्सी अनुसार थप ४८ मेगावाटसम्म निर्यात गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार अहिले भने प्राधिकरणले ९ हजार ४५ मेगावाट प्रतिघण्टा (दिनमा करिब ३७६ मेगावाट बिजुली) निर्यात गरिरहेको प्राधिकरणले बुधवार साँझ जारी गरेको तथ्यांकले देखाएको छ । नेपालले बिजुली निर्यात गरेको समयमा आयात ठप्प भने नहुने प्राधिकरणले जानकारी दिएको छ । अहिले पनि नेपालले सिमाना क्षेत्रको लागि भने केही बिजुली आयात गरिरहेकै छ ।

भट्टराईले भने, ‘वर्षातको समय भएको र नेपालले निर्यात गर्न थालेको समयमा आयात नहुने भन्ने होइन, आवश्यकता अनुसार आयात पनि हुन्छ ।’ प्राधिकरणकै तथ्यांक अनुसार हाल भारतबाट १ हजार २९५ मेगावाट प्रतिघण्टा (दैनिक करिब ५३.९५ मेगावाट) बिजुली आयात भइरहेको छ ।

भारतलाई दिने सहमति भएको यो बिजुली २४ सै घण्टा भने दिन सकिएको छैन । नेपालले पिक आवरमा कम र अफ आवरमा बढी बिजुली पठाइरहेको भए पनि तोकिएको सीमासम्म पुग्न नसकेको भट्टराईले बताए । अहिले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट मात्रै नेपाल र भारतबीच बिजुलीको कारोबार हुने गरेको छ । 

नेपालले सिस्टमका कारण २४ सै घण्टा भनेजति बिजुली भारतलाई उपलब्ध गराउन नसक्ने प्राधिकरणका अधिकारीको भनाइ छ । नेपाल र भारतबीच डिमाण्ड समय करिब उस्तै भएको हुँदा नेपाललाई चाहिएको बेला उता पनि डिमाण्ड बढ्ने गरेकोले पनि मागे जति बिजुली दिन नसकिने अवस्था रहेको उनको भनाइ छ ।

८ हजार देखि ८ हजार ४ सय मेगावाट प्रतिघण्टा (३३३ देखि ३५० मेगावाट)सम्म बिजुली भारत निर्यात भइरहेको छ । नेपालले १९ जेठदेखि भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर औपचारिक रूपमा बिजुलीको निर्यात थालेको हो । नेपालले भारतमा बिजुली निर्यात गर्न थालेको साउन १० सम्मको ५५ दिनमा भारु २ खर्ब (करिब सवा ३ अर्ब रुपैयाँ)को बिजुली बेचेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

त्यसअघि पनि नेपालबाट केही बिजुली निर्यात भएको थियो । औपचारिक रूपमा नेपालले इण्डियन एक्सेचन्ज मार्केटमार्फत प्रतिस्पर्धा गरेरै भारतमा बिजुली निर्यात गरिरहेको छ । नेपाल र भारतबीचको दैनिक बिजुली किनबेच हरेक दिनको बिहान १० देखि १२ बजेसम्म हुन्छ । उक्त मूल्य सोही दिनको राति १२ बजेदेखि लागू हुन्छ ।

नेपालले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाअन्तर्गतको ३९ मेगावाटबाट भारतमा बिजुली बेच्न थालेको हो । हाल कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको थप १४४ मेगावाट पनि निर्यात हुन थालेको छ । 

यसबाहेक मस्र्याङ्दी, मध्य मस्र्याङ्दी र लिखु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीसमेत नेपालले भारतलाई बेच्न थालेको छ । यी आयोजनाबाट भारतले बिजुली किन्न सहमति जनाएको थियो । सहमतिमा भएकै आयोजनाको मात्रै नेपालबाट भारतमा बिजुली निर्यात हुन्छ । 

नेपालबाट शुरू भएको बिजुली निर्यातलाई सकारात्मक मानिएको छ । यो निर्यातले नेपालमा चालू आवमा व्यापार घाटा कम गर्न सहयोग गर्ने अधिकारीको तर्क छ । अहिलेको निर्यात वर्षातमा मात्रै हुने र हिउँदमा भने नेपालले नै ल्याउनुपर्ने हुन्छ । प्राधिकरणको तथ्यांक अनुसार हाल २ हजार १९० सय मेगावाट बिजुली उत्पादन हुन थालेको छ । यसमध्ये हाल पीक आवरको डिमाण्ड १ हजार ८६९ मेगावाट मात्रै छ । 

बिज्ञापन