राजनीति

विगतमा बनेका सरकार हेर्दा कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो देखिँदैन – गगन थापा

बिज्ञापन

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनलगत्तै नेविसङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने बताए । “नेविसङ्घको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्छ”, उनले भने ।

महामन्त्री थापाले कांग्रेसले आफ्ना मतदाता बढाउने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । “विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो देखिँदैन, कम्युनिष्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि कांग्रेसले सङ्गठन विस्तार गर्नुपर्छ”, उनले भने । कांग्रेस सङ्गठनलाई बलियो बनाउने गरी कांग्रेसको सङ्गठन विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेविसङ्घको भविष्यलाई अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताएका छन् ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसङ्घ उपत्यका क्याम्पस एकाइले आज आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उनले पार्टीको वैचारिक धरातललाई थाँती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी सङ्कटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने बताए ।

बिज्ञापन

“कांग्रेस बचाउनका लागि बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसङ्घ बचाउन जरुरी छ”, उनले भने । उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताए । कांग्रेसलाई तालमेलले भन्दा पनि एजेन्डाले जिताउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पर्यटन, कृषि र जलविद्युत्को माध्यमबाट देशको आर्थिक विकास गर्नका लागि कांग्रेस प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । नेविसङ्घले मुलुकमा कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि लड्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले म्याद सकिएका सबै भ्रातृ संस्थालाई यथाशक्य चाँडो पूर्णता दिने बताए । “निर्वाचनमा कांग्रेसले भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु दुःखद हो”, उनले भने ।

सहमहामन्त्री परियारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भनी स्थानीय तहलाई तालमेलको अधिकार दिएको भन्दै सोहीअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले नेविसङ्घको इतिहास जोगाउने जिम्मा विद्यार्थीको काँधमा आएको बताए । पार्टीले नेविसङ्घको कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्ने उनको भनाइ थियो ।

बिज्ञापन
बिज्ञापन