स्वास्थ तथा सरसफाइ

नेपालमा नियन्त्रणभन्दा बाहिर बर्डफ्लू !

बिज्ञापन

काठमाडौं । बर्ड फ्लू संक्रमण नियन्त्रण बाहिर गएको भन्दै सरकारले सरोकारवालाहरूलाई नियन्त्रणमा सघाउन आग्रह गरेको छ । पशु सेवा विभागले व्यवसायीहरूसँग छलफल गर्दै संक्रमण अपेक्षा गरिएभन्दा बढी फैलिएकाले सबै निकायको सहयोगमा मात्रै नियन्त्रणमा आउने स्थिति बनेको जनाएको छ ।

अहिलेको बर्ड फ्लू संक्रमणलाई विभागले सन् २०१३ पछिको ठूलो महामारीको रूपमा समेत विश्लेषण गरेको छ ।

एकलाख पन्छी नष्ट, १२ करोड बढीको क्षति
गत माघ २७ गते सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिमा बर्ड फ्लू संक्रमण पुष्टि गरेको थियो । दुई महिनाको अवधिमा यो संक्रमण १३ जिल्लामा फैलिइसकेको पशु सेवा विभागको तथ्यांक छ ।
विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार काठमाडौं, भक्तपुर, चितवन, सुनसरीलगायतका जिल्लाका ठूला फार्महरूमा संक्रमण बढी देखिएको छ । यी जिल्लामा ८ देखि १२ हजारसम्म कुखुरा तथा टर्की पालिएका व्यावसायिक फार्मममा बर्ड फ्लू संक्रमण देखिएपछि ठूलो संख्यामा पन्छी नष्ट गर्नुपर्ने अवस्था आएको उनले बताए ।

संक्रमणका कारण हालसम्म १२ करोड रुपैयाँ बराबरको क्षति भइसकेको डा. ढकालको दाबी छ । “एकातिर ठूलो संख्यामा व्यावसायिक पन्छी नष्ट गर्दा किसान र सरकार दुवैलाई नोक्सान भएको छ । अर्कोतर्फ पन्छी संक्रमणजन्य क्षेत्रमा रेस्पोन्स गर्ने क्रममा विभागका अन्य कामहरू प्रभावित बनेको छ । स्थिति हामीले अपेक्षा गरेभन्दा फरक बन्दै गयो,“ डा. ढकालले भने ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरको परीक्षणले अहिलेको संक्रमण बर्ड फ्लूको (एच ५ एन १ एभिएन एन्फ्लूएन्जा प्रजाति) भएको पुष्टि गरेको छ । यो प्रजाती मानिसमा पनि सर्नसक्ने भएकाले संक्रमित कुखुराको सम्पर्कमा आएका व्यक्तिहरूमा पनि जोखिम बढेको छ ।

बिज्ञापन

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले गत शुक्रबार पशु सेवा विभाग पोल्ट्री व्यवसायी, दाना उद्योग संघ लगायतका सरोकारवालाहरूसँग छलफल गर्दै नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो । सो क्रममा पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बर्ड फ्लू नियन्त्रणका लागि संक्रमित स्थानबाट अन्य स्थानमा उत्पादन ओसारपसारमा कडाइ गर्नुपर्ने बताएका थिए ।

जिल्ला बर्डफ्लू रोग नियन्त्रण समिति तनहुँले हिजोदेखि चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइसकेको छ । ठूलो संख्यामा कुखुरा, हाँस, टर्की पालन गरिएका फार्महरूमा नै संक्रमण बढेपछि नियन्त्रणमा कठिनाइ भएको डा. तिवारीले बताए ।

धेरै स्थानमा एकैपटक संक्रमण देखिनु र ठूला फार्महरूमा नै संक्रमण फैलिनुले नियन्त्रणमा चुनौती थपेको विभागको ठहर छ । संक्रमण नियन्त्रणका लागि व्यावसयिक आवतजावत कम गर्नु नियन्त्रणको प्राथमिक उपाय भएको विभागको धारणा छ ।

संक्रमण पहिचानका लागि नमुना ल्याइएका फार्महरूमा परीक्षण रिपोर्ट नआउँदासम्म त्यहाँका पन्छीलाई क्वारेन्टिनमा राख्न, पन्छीजन्य मल तथा फोहोरलाई निश्चित स्थामा व्यवस्थापन गर्न तथा आसपासमा रहेका व्यावसायि सतर्क रहन सरकारले आग्रह गर्दै आएको छ ।

बिज्ञापन
बिज्ञापन