अनौठो

विदेश जान दाजु र बहिनीबीच समेत नक्कली विवाह

बिज्ञापन

एजेन्सी । विद्यार्थी भिसामा विदेश जानेको संख्या बढ्दै गएपछि अहिले नक्कली बिहेको लहर नै चलेको छ । अमेरिका, अष्ट्रेलिया लगायत युरोपजस्ता देशमा गएर काम गर्दै पढ्न पाउने भएपछि यस्ता नक्कली बिहेमा अभिभावकको समेत सहमति भएको पाइन्छ 

काठमाडौंको गुहेश्वरी मन्दिरमा २० वर्षदेखि पुजारी कर्म गरिरहेका नरेन्द्र उपाध्याय (नाम परिवर्तन) ले सहोदर बाबु–छोरीबीच समेत नक्कली विवाह गरिदिएको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै नक्कली बिहे दाजु र बहिनीबीच हुने गरेको छ । त्यस्तै आफ्नै फुपाजु, भिनाजुसँग पनि नक्कली विवाह गर्ने गरेका छन् ।

उपाध्याय भन्छन्, ‘मन्दिरमा बिहे गर्न आउनेलाई नआऊ भन्न मिल्दैन ।’ यो गलत संस्कृतिलाई नमान्ने भनेपनि उनीहरुले आग्रह गरेपछि आफ्नो कर्तव्य पालना विवश भएको पुजारीको भनाइ छ । ‘उनीहरु आफै पनि मन खिन्न पार्छन् । रहरले होइन, भविष्यको लागि बाध्य छौँ भन्छन्,’ उनले भने । आफ्नै देशमा राम्रो अवसर भए यस्तो नक्कली काम गर्नुपर्ने थिएन भनेर दुःख देखाउने गरेको उपाध्यायले बताए । एक्ला–एक्लै जाँदा धेरै पैसा लाग्ने तर जोडी जाँदा त्यति नै पैसाले पुग्ने भएपछि लागत जोगाउनको लागि नक्कली बिहे गर्ने गरेको उनको बुझाइ छ ।

त्यस्तै, मैतीदेवी मन्दिरका पुजारी पण्डित रामप्रसाद सुवेदीले वर्षमा २० भन्दा धेरै जोडीको नक्कली बिहे गराइदिएको बताउँछन् । सक्कली बिहे गर्न ५/६ घन्टा लाग्छ तर नक्कली बिहे उनले एक घण्टामै सक्ने बताए । भन्छन्, ‘फोटो खिच्नका लागि मात्रै यस्तो बिहे गरिएको हुन्छ ।’ औँठी लगाउँदा पनि औँलामा लगाइदिए जस्तो गर्ने हो । सिन्दुर पनि हालेको जस्तो गर्ने र पछि दुलही आफैले राम्रोसँग लगाएर फोटो खिच्छन् । फोटोमा नक्कलीजस्तो नदेखिन धेरै संस्कार साँच्चिकै बिहे सरह नै रसम पुरा गर्नुपर्ने उनले बताए ।

बिज्ञापन

मनले नक्कली बिहे मानेपछि नक्कली नै हुन्छ तर यति रसम पुर्याएपछि धार्मिक विधिअनुसार त्यो वास्तविक बिहे हुने पण्डितले बताए । पहिले पहिले झुट बोलेर नक्कली बिहे गर्थे तर अहिलेको नयाँ पुस्ता विदेश जानको लागि मात्रै बिहे गर्न लागिएको हो भनेर प्रस्ट बताउँछन् । २०७० सालदेखि नक्कली बिहे गर्नेको संख्या अत्यधिक बढेको उनको अनुभव छ ।

विदेश जानकै लागि वार्षिक रूपमा कति जोडीले नक्कली बिहे गर्छन् भन्ने कुराको आधिकारिक तथ्याङ्क कतै छैन । पुजारीहरूको अनुसार महिनामा करिब एक सय भन्दा धेरै जोडीले मन्दिरमा नक्कली विवाह गर्छन् । नक्कली बिहे गरेर केहीले त्यसैलाई साँच्चिकै बिहेमा परिणत गरेको अनुभव पनि पण्डितहरूसँग छ । समय बित्दै जाँदा विवाह वास्तविकतामा बदलिएको पाइयो । तर धेरै नक्कली बिहे गर्नेहरु झमेलामा फसेको सुनेको उनीहरुले बताए ।

बिज्ञापन
बिज्ञापन