राजनीति

चामलको बोरामा बाइबल वितरण गरेको देखेपछि राजतन्त्र चाहिन्छ भन्ने निष्कर्षमा पुगे : रवीन्द्र मिश्र

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले समाजमा फैलिएको धर्म परिवर्तनको विकृत अवस्था देखेर राजतन्त्र स्थापनाको निष्कर्षमा पुगेको बताएका छन् । 

बुधवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जुन ढंगबाट नेपालमा चामलको बोरामा हालेर बाइबल वितरण गरिन्छ, पशुपति परिसरमा बाइबल वाचन गरिन्छ । बालबच्चालाई बाइबल वितरण गरिन्छ । यो ठीक होइन । यो सबै देखेपछि यो देशमा राजतन्त्र हुनुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगे ।’

२०६२/६३ को आन्दोलनको बेला आफूले राजदरबार भत्काएर त्यसको ठाउँमा ‘दिल्ली दरबार’ नबनाउ भनेर वकालत गरेको पनि उनले बताए ।  

‘जुन ठाउँमा राष्ट्रपतिको संस्था, प्रधानमन्त्रीको संस्था, अख्तियारले इमान्दारीपूर्वक काम गर्दैनन् । कुनै पनि संस्थाले राम्रोसँग काम गर्न नसक्ने ठाउँमा आगो लाग्यो भने कसले सम्हाल्ने ? राजनीति गर्ने भनेको देशकै लागि हो । देशको लागि राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशका जनताले दुःख पाए’, उनले भने । 

बिज्ञापन

‘देश लामो समयदेखि विकृतिबाट गाँजियो । नियतिले रजाइँ गर भनेर यो देश दिएको होइन । संघीयता आर्थिक, राजनीतिक रूपमा धान्न सकिँदैन । अखण्डताको हिसाबले पनि संघीयता धान्न सकिँदैन’, उनले भने ।  

‘विचारभन्दा माथि देश’ भनेर पुस्तक लेखेपछि नागरिक समाजको ठूलो तप्काले पश्चगामी, प्रतिगामी भन्ने आरोप लगाएको भन्दै उनले कार्यक्रममा आक्रोश पोखेका थिए । 

पश्चगामी भनेर आरोप लगाएको भन्दै उनले कांग्रेसका नेता र कार्यकर्ताप्रति आक्रोश व्यक्त गरेका थिए । 

बिज्ञापन
बिज्ञापन