स्वास्थ तथा सरसफाइ

भारतीय सीमामा बढ्दै कोरोना जोखिम, दैनिक १० जनासम्म संक्रमित

बिज्ञापन

रुपन्देही । रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमित बढ्न थालेका छन् । भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिनेहरुमध्ये दैनिक ८–१० जनामा कोरोनाभाइरस संक्रमण भेटिन थालेपछि यहाँका विभिन्न क्षेत्रमा स्वास्थ्य सर्तकता अपनाउन थालिएको छ ।

नियमित परीक्षणका क्रममा फेला परेका संक्रमितमध्ये अधिकांश भारतीय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

एक सातायता रुपन्देहीको बेलहिया र सर्वसाधारणको जमघट हुने स्थानमा परीक्षणका क्रममा धेरै जनामा संक्रमण पुष्टि हुन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सतर्कताका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कोरोनाविरुद्धको खोप लगाएका संक्रमितको स्वास्थ्यमा गम्भीर असर नदेखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । खोप नलगाएका, विभिन्न दिर्घ रोग भएका बिरामी र बालबालिका जोखिममा रहेको जनाउँदैं कोरोना संक्रमणको वर्तमान अवस्थाबारे जानकारी लिने र रोकथामका लागि भइरहेका कामलाई निरन्तरता दिने डीसीसीएमसीबाट निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बिज्ञापन

सीमा नाकामा कोरोना संक्रमण जाँच बढाउने निर्णय भएको उनले बताए ।

स्थानीय तह, अस्पतालमा आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण, तयारी अवस्थामा राख्ने तथा अक्सिजन प्लान्ट सञ्चालनको तयारीबारे सरोकारवालासँग छलफल गरिएको पाण्डेको भनाइ छ । नाकामा रहेको होल्डिङ सेन्टरलाई चलायमान बनाउन आवश्यक पूर्वाधार थप गर्न निर्देशन दिइएको पाण्डेले बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले नाकामा कोरोना परीक्षण बढाइएको र संक्रमणको अवस्था पत्ता लगाउन विद्यालय, कलेज र भीडभाड क्षेत्रमा एन्टिजेन परीक्षण बढाइएको बताए । बेलहियास्थित हेल्थ डेस्कमा खटिएका कर्मचारीले भारतबाट फर्किनेको बसाइँ विवरण हेरेर उनीहरुको कोरोना परीक्षण गरेर पठाउने गरेको उनले बताए ।

नियमित परीक्षणका क्रममा फेला परेका संक्रमितमध्ये अधिकांश भारतीय रहेकाले समस्या बढेको हो । अहिलेसम्म जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरमा संक्रमित बढी देखिएपनि अन्य पालिकामा परीक्षण नभएकाले यथार्थ तथ्यांक आउन सकेको छैन ।

सीमा नाकामा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण गरेपछि संक्रमितहरुलाई राख्न प्रयोग गर्नुपर्ने होल्डिङ सेन्टरको अभाव महसुस भइरहेको हेल्थ डेस्कका कर्मचारी बताउँछन् ।

होल्डिङ सेन्टर नहुँदा संक्रमितहरुलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । यसरी घर पठाउँदा बाटोमै अन्यलाई संक्रमण सर्ने खतरा रहने भए पनि होल्डिङ सेन्टर नहुँदा अर्को विकल्प नभएको उनीहरु बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले रुपन्देहीमा स्थानीय तहले कोरोना संक्रमण बढ्दै गएको परिस्थिति र संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सामान्य चासो देखाए पनि ठोस प्रक्रिया अगाडि नबढेको बताए ।

उनका अनुसार कोभिड नियन्त्रणको विषयमा हालै बैठक बसे पनि तत्काल होल्डिङ सेन्टर निर्माण गर्ने तयारीमा स्थानीय तह अग्रसर छैनन् । सुनौलीस्थित बेलहिया नाकामा अहिले सिद्धार्थनगर नगरपालिका र जनस्वास्थ्य कार्यालय रुपन्देहीका कर्मचारीले कोरोना चेकजाँच गरेका छन् । उनीहरूले बिहान ६ बजेदेखि राति १० बजेसम्म चेकजाँच गर्ने गरेका छन् ।

यहाँ अहिले एन्टीजेन परीक्षण गर्ने र रिपोर्ट नआउँदासम्म सामान्य टेन्टमा राख्ने गरिएको छ । एन्टीजेनको रिपोर्ट १५ देखि २० मिनेटभित्र आउने गरेको छ । नेपाल र भारत बाहेक अन्य मुलुकका नागरिकहरूलाई भने अध्यागमन कार्यालयले व्यवस्था गरेको ठाउँमा होल्ड गरेर राखिन्छ ।

सीमा नाकामा रहेको हेल्थ डेस्कमा कोभिड परीक्षणका अतिरिक्त शंका लागेका व्यक्तिमा क्षयरोग र एचआइभीसम्मको परीक्षण हुने गर्दछ । नाकामा अहिले सिद्धार्थनगर नगरपालिकाका ८ जना स्वास्थ्यकर्मी, प्रदेश सरकारबाट २ र अन्य विभिन्न स्वास्थ्य सम्बन्धी काम गर्ने परियोजनाबाट गरी कुल २० जनाको समूह खटिएको स्वास्थ्यकर्मी लोकेन्द्र कडेलले बताए ।

उनका अनुसार कोभिड दैनिक ३ सयभन्दा धेरै परीक्षण भएको छ भने क्षयरोग, मलेरिया, एचआइभीजस्ता रोगको परीक्षण पनि २० भन्दा माथि नै हुने गरेको छ । स्वास्थ्य प्रमुख ढकालका अनुसार गम्भीर लक्षण देखिएका वा शंका लागेका व्यक्तिलाई क्षयरोग तथा एचआइभी परीक्षणसम्मको सुविधा नाकामा छ । तर धेरैलाई कोभिडबाहेक अन्य परीक्षण हुन्छ भन्ने पत्तो नभएको उनले बताए ।

बिज्ञापन
बिज्ञापन