खेलकुद

सुदूरपश्चिममा सङ्क्रमणदर ओरालोमा
डोटी, अछाम र बाजुरा सङ्क्रमणमुक्त

बिज्ञापन

कैलाली । कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमणदर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।
यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम रहेको छ । हप्ताको दोस्रो दिन सोमबार पाँच जनामा, मङ्गलबार र बुधबार एक÷एकजनामा, बिहीबार दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

बिज्ञापन

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै गत माघमा त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको थियो । त्यसपछि यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट फर्किने अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेको थियो ।

हाल भने सङ्क्रमणदर निकै कम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । “विश्वव्यापी रुपमा कोरोना भाइरस सङ्क्रमण घटेको छ, छिमेकी राष्ट्र भारतमा पनि सङ्क्रमणदर न्यून छ, त्यसकै प्रभाव सुदूरपश्चिममा पनि हो,” उनले भने ।

डोटी, अछाम र बाजुरा सङ्क्रमणमुक्त

कोरोना भाइरस सङ्क्रमणदर ओरालो लागेसँगै सुदूरपश्चिमका तीन जिल्लामा सङ्क्रमण शून्य रहेका छन् । प्रदेशका नौ जिल्लामध्ये डोटी, अछाम र बाजुरामा हाल एकजना पनि कोरोना भाइरस सङ्क्रमणका सक्रिय सङ्क्रमित नरहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशका अन्य जिल्लामा गरी कूल ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी कैलालीमा २५, कञ्चनपुरमा नौ, बैतडीमा तीन, दार्चुला, डडेल्धुरा र बझाङमा एक÷एकजना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।सक्रिय सङ्क्रमितमध्ये दुईजनाको सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ भने अरू सबै होम आइसोलेशन छन् ।

सुदूरपश्चिमममा हालसम्म ५९ हजार ५९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाँच लाख २३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमणकै कारण यस प्रदेशमा हालसम्म ६३३ जनाको मृत्यु भइसकेको छ ।

बिज्ञापन