राजनीति

दाङका प्रभावशाली नेताहरूले पार्टी छाडेपछि माओवादीमा हलचल

बिज्ञापन

दाङ । चुनावको मुखमा दाङमा स्थानीय तहमा राम्रो प्रभाव पार्ने नेताहरूले धमाधम नेकपा माओवादी केन्द्र छाड्न थालेका छन् । जसले गर्दा दाङमा माओवादी केन्द्र कमजोर बन्दै गएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन ५ वटै क्षेत्र माओवादी जितेको थियो । दाङ माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको गृह जिल्ला हो ।
गत चैत ८ गते महराका स्वकीय सचिव प्रमोद शर्माले पनि माओवादी छाडेका थिए । शनिवार जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् ।

जिल्लामा राम्रो प्रभाव रहेका नेताहरूले चुनावको मुखमा पार्टी छाडेपछि दाङ माओवादीमा हलचल आएको छ । माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्ष समेत रहेका प्रमोद र उनकी पत्ती सीता चौधरीलाई चैत १० गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।

चौधरीलाई माओवादीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएको थियो । एमालेमा प्रवेश गरेपछि उनलाई अहिले एमालेले उपमेयरमा अगाडि सार्ने तयारी गरेको छ ।

बिज्ञापन

सोमवार फेरि माओवादी केन्द्र दाङमा हलचल मच्चिने गरी जिल्ला इन्चार्ज जीवन गौतमले माओवादी त्यागेका छन् । पार्टीमा गुटबन्दी, सिन्डिकेट र निषेधको प्रवृत्ति देखिएपछि आफू माओवादीमा बस्ने अवस्था नभएर पार्टीबाट बाहिरिएको गौतमले बताए ।

गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए । त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे । नेता नारायणकाजी श्रेष्ठनिकट गौतम २०६५ सालमा नेकपा एकता केन्द्र मसालबाट माओवादीमा समाहित भएका थिए ।

जिल्लाका २ जना प्रभावशाली नेताहरूले पार्टी छाडेपछि दाङ माओवादीमा हलचल आएको छ ।

नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जीवन गौतम र प्रमोदले पार्टी छाड्दैमा दाङ माओवादीलाई खासै असर नपर्ने दाबी गरे । ‘जिल्ला इन्चार्ज नै पार्टी छाडेपछि केही मनौवैज्ञानिक असर पर्ला तर कार्यकर्ता तहमा त्यतिधेरै असर पर्दैन,’ आचार्यले भने ।

उनले थपे, ‘उहाँ (गौतम) गिरिराजमणि पोखरेल मन्त्री हुँदा, डिआर पौडेल मन्त्री हुँदा, अमिक शेरचन मन्त्री हुँदा कहिले राजनीतिक सल्लाहकार त कहिले स्वकीय सचिव भएर सत्ताबाहिर रहनुभएन । राज्यसत्तासँग सधैं पहुँचमा पुगेर आफू सम्पन्न भएपछि पार्टीलाई आक्षेप लगाएर पार्टी छाड्दैमा पार्टीलाई केही असर पर्दैन । त्यो दाङका माओवादी कार्यकर्ताले बुझेका छन् ।’

माओवादी दाङको राजपुर गाउँपालिका–२ का वडाध्यक्ष तुलसीराम भण्डारीले पनि माओवादी छाडेका छन् । माओवादीले सधैं दोहोरो चरित्र देखाएको भन्दै पार्टी छाडेको भण्डारीले बताएका छन् । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला पनि हो । माओवादी छाडेर धेरै कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् ।

बिज्ञापन
बिज्ञापन