खेलकुद

भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा नेपाल

बिज्ञापन

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आफ्नो समूहको बलियो प्रतिस्पर्धी भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे हुने खेलमा नेपाल भारतलाई हराउँदै इतिहास कोर्ने लक्ष्यमा छ ।

एक खेल अगावै सेमिफाइनल पुगेको नेपाललाई आजको खेलमा जित वा हारको नतिजाले फरक त पार्दैन । तर, यसअघि तुलनात्मक रूपमा कमजोर मानिएका बङ्गलादेश र किर्गिस्तानलाई पराजित गरेको नेपालले भारतसँगको खेलबाट आफ्नो स्तर मापन गर्ने अवसर पाउँछ ।

भारतलाई हराए नेपाली टिममा रहेका युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर र समूह विजेता बन्ने अवसर छ ।

बिज्ञापन

नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जहाँ, पहिलो दुई सेट आफ्नो पक्षमा पारेको नेपालले त्यसपछि लगातार तीन सेट गुमाएसँगै रजत पदकमा चित्त बुझाउनु परेको थियो ।

समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरिसकेका छन् । त्यसैले आजको खेल जितेर समूह विजेता बन्ने दुवै टिमको लक्ष्य हुनेछ ।

आजै हुने समूह बी को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा भारत, किर्गिस्तान र बङ्गलादेश छन् ।

भने, समूह बी मा उज्बेकिस्तान, श्रीलङ्का,माल्दिभ्स र काजकिस्तान छन् । काजकिस्तान जारी प्रतियोगितामा भलिबलको विश्व वरियतामा रहेको एक मात्र टिम हो । काजकिस्तान एसियन वरियताको पाँचौँ स्थानमा छ ।

बिज्ञापन
बिज्ञापन