कृषि

दूधको मूल्य बढाउने तयारी

बिज्ञापन

काठमाडौँ, फागुुन १० गते । किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ मूल्य बढाउने प्रस्ताव गरेको हो । 

बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा, उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुग्ध विकास संस्थान, पशुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्रप्रसाद यादवले कमिटीले गरेको अध्ययनले ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरू नोक्सानीमा गएको देखिएकाले मूल्य बढाउन प्रस्ताव गरिएको जानकारी दिनुभयो । वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूल्य प्रतिलिटर १० रुपियाँ मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको उहाँले बताउनुभयो । बोर्डले एक साताअघि मन्त्रालयमा मूल्य बढाउन प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ  ।  

यसअघि २०७८ माघ २८ मा सरकारले दूधको मूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपियाँ बढाएर किसानको मूल्य प्रतिलिटर ६० रुपियाँ पु-याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको थियो । गत पुसमा केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ रुपियाँ मूल्य बढाएका थिए । वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउने सहमति भएपछि बढेको मूल्य फिर्ता भएको थियो । 

बिज्ञापन

नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले इन्धनको मूल्य बढेकाले किसानको लागत मूल्य र उद्योगीको लागत उच्च हुँदा व्यवसाय सञ्चालन गर्न दूधको मूूल्य बढाउनुपर्ने बताउनुभयो । बजारमा अधिकांश वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव किसान र उद्योगलाई पर्न गएको उहाँको भनाइ छ । अहिले बजारमा दैनिक ३५ लाख लिटर दूधको माग रहेकोमा ३१ लाख लिटर आपूर्ति भइरहेको र पाँच लाख लिटर दूध अपुग रहेको उहाँले जानकारी दिनुभयो । 

कोभिडपछि पशुुपालन व्यवसायबाट किसान पलायन हुन थालेपछि उत्पादन घट्दै गएपछि बजारको माग पूरा गर्न कठिन भएको उहाँले बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन