राजनीति

पाँच वर्ष प्रधानमन्त्रीमा सघाउने कांग्रेसको प्रस्ताव

बिज्ञापन

काठमाडौं, फागुन ५ गते । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) लाई पाँच वर्ष प्रधानमन्त्रीमा सघाउने जनाएको छ । माओवादी केन्द्रले कांग्रेसलाई राष्ट्रपति निर्वाचनमा सघाए बदलामा कांग्रेसले सो सहयोग गर्ने प्रस्ताव गरेको हो ।

बिज्ञापन

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेमा कांग्रेसले सत्ता सञ्चालनमा सघाउने बताउनुभयो । अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने उहाँको भनाइ छ । 

संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उहाँले चर्चा गर्नुभयो । राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल एमाले नमाने पनि अन्य दलले कांग्रेसलाई सघाउनु पर्ने उहाँको भनाइ छ ।

एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । प्रवक्ता महतले राष्ट्रपतिमा काँग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिने बताउनुभयो । 

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु काँग्रेसका लागि विडम्बनाको विषय भएको चर्चा गर्नुभयो । अहिलेको सत्ता साझेदार गठबन्धन स्वार्थ केन्द्रित रहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

बिज्ञापन