राष्ट्रिय समाचार

सांसद अरुण चौधरीलाई माफी दिने सरकारको तयारी

बिज्ञापन

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिने प्रक्रिया अघि बढाएको छ ।

उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी नगर्ने गरी फैसला गरेपछि सरकारले उनको सजाय कटौतीका लागि राष्ट्रपतिबाट माफी मिनाहा गराउने प्रक्रिया अघि बढाएको हो ।

त्यसका लागि गृह मन्त्रालयले प्रजातन्त्र दिवसको दिन सजाय मिनाहा गरिदिन भन्दै महान्याधिवक्ताको कार्यालयलाई पत्र लेखेको छ ।

यसका लागि फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ को उपदफा (५) बमोजिम उक्त मुद्दाहरूको सजाय/फैसला अदालतबाट अन्तिम किनारा भएको वा नभएको यकिन गरी पठाउन महान्यायाधीवक्ताको कार्यालयसँग सरकारले आग्रह गरेको हो ।

बिज्ञापन

अदालतले ८ लाख १९ हजार बिगो तिराउने गरी चौधरीको नाममा फैसला गरेकोमा त्यो रकम पनि माफी गर्न सकिने वा नसकिने राय सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग माग गरेको छ ।

चौधरीविरुद्ध लम्कीचुहाका महादेव बजगाईंले आफ्नो ट्याक्टर जलाएको भन्दै उजुरी दिएका थिए । चौधरीले २०६६ भदौ ३ गते आफ्नो नाममा रहेको लु २ त २११ नम्बरको ट्याक्टरमा आगो लगाई त्यसबाट ८ लाख ७५ हजार रुपैयाँ क्षति भएको भन्दै कारवाहीका लागि उनले उजुरी दिएका थिए ।

सोही मुद्दामा २०७० सालमा जिल्ला अदालत कैलालीले उनीसहित ३ जनालाई ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तीनजना आरोपितहरु नै प्रहरीसमक्ष आत्मसमर्पण नगरी फरार भएकोमा उनी सांसद निर्वाचित भइसकेपछि प्रहरीले गत माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

६ महिनासम्मको कैद सजायमा जरिवाना तिरेर छुट्न सक्ने भए पनि चौधरी जरिवाना नतिरी अहिले थुनामै बसेका छन् भने उन्मुक्तिले चौधरीको रिहाइको माग गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन