राष्ट्रिय समाचार

आज स्ववियु निर्वाचन–अधिकांश क्याम्पसमा सत्ता गठबन्धन र एमालेनिकट विद्यार्थी संगठनबीच प्रतिस्पर्धा

बिज्ञापन

काठमाडौं । २०३६ सालदेखि प्रत्येक २ वर्षमा हुने गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज देशभर त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा हुँदैछ ।

बिज्ञापन

२०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा भएको छैन । यसपटक पनि विद्यार्थी संगठनहरुले निहुँ निकालेर हार्ने ठाउँमा चुनाव हुन नदिन केही क्याम्पसमा तालाबन्दी गरेका छन् ।

देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखरा, वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पस, काठमाडौंका रत्न राज्य, त्रिचन्द्र, पाटन संयुक्त लगायतका क्याम्पसमा चुनाव हुन सकेको छैन ।

एमालेनिकट अनेरास्ववियुले सत्ता गठबन्धनमा आबद्ध विद्यार्थीहरूले चुनाव हार्ने भएपछि तालाबन्दी गरेको आरोप लगाएको छ । सत्तापक्षले भने एमाले अखिलले फर्जी भर्ना गरेको आरोप लगाएका छन् ।

केन्द्रीय क्याम्पस कीर्तिपुर, अमृत साइन्स, नेपाल ल, नेपाल कमर्स क्याम्पस, शंकरदेव, पद्मकन्या, सरस्वतीलगायत काठमाडौंका क्याम्पसहरूमा आज निर्वाचन हुँदैछ । अधिकांश क्याम्पसमा सत्ता गठबन्धनमा आबद्ध नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र नेकपा एस आबद्ध अनेरास्ववियूको गठबन्धन र एमालेनिकट अनेरास्ववियुबीच प्रतिस्पर्धा छ ।

केन्द्रीय क्याम्पस,पुल्चोक इन्जिनियरिङ क्याम्पसलगायत चारवटा क्याम्पसमा यसपटक विद्युतीय मतदान हुने त्रिविले जनाएको छ । मतदान शान्तिपूर्ण गराउन प्रहरी परिचालन गरिएको छ । मतदान सकिए लगत्तै गणना थालिने भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई विगतमा राजनीतिक दलहरूको शक्ति मापन गर्ने मिनी आम निर्वाचनका रूपमा लिइन्थ्यो । तर पछिल्लो समय भने विद्यार्थीको अनिच्छा, प्रमाणपत्र तह फेजआउट र निर्वाचन नै नहुने गरेका कारण स्ववियुको आकर्षण कम हुँदै गएको छ ।

स्ववियु निर्वाचन विगतमा प्रत्यक्ष हुने गरेकोमा पछिल्लो समय भने समानुपातिक निर्वाचनबाट भइरहेको छ । स्ववियु अध्यक्ष,सचिव र कोषाध्यक्षसहित आधा सदस्य प्रत्यक्ष निर्वाचित र उपाध्यक्ष, सहसचिवसहित आधा सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।

२८ वर्ष उमेरभित्रका विद्यार्थीमात्र उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।

बिज्ञापन