Uncategorized

सम्झौताको म्याद सकिँदा नारायणगढ–बुटवल सडक खण्डको प्रगति ३० प्रतिशत मात्र

बिज्ञापन

काठमाडौँ, जेठ ७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको म्याद थपका लागि अनुरोध परेको छ । कोरोना महामारीको कारण देखाउँदै एक पटक म्याद  थपिएको यस आयोजनाको दोस्रो पटकको पुन म्याद थपका लागि अनुरोध परेको हो । 

डेढ वर्ष म्याद थपका लागि प्रस्ताव परेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा यस खण्डको निर्माण कार्य नसकिने भएपछि म्याद थपको लागि चिनियाँ कम्पनीले अनुरोध गरेको छ । अध्ययन गरेपछि म्याद थप्ने वा नथप्ने निर्णय हुनेछ ।” 

उहाँका अनुसार पहिलोपल्ट थपिएको म्याद आगामी अगस्ट महिनामा सकिँदै छ । तर,अगस्ट महिनामा विस्तारको काम नसकिने भएपछि निर्माण कम्पनीले म्याद थपको लागि अनुरोध गरेको हो । महानिर्देशक ढकालका अनुसार यस आयोजनाको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा मात्र पुगेको छ । 

पहिलोपल्ट कोभिड महामारीका कारण छ महिना म्याद थप भएको यस आयोजनाको गत भदौमा पुनः एक वर्ष म्याद थप गरिएको थियो ।  चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो अगस्ट महिनासम्ममा काम सक्ने गरी जिम्मा लिएको थियो । 

बिज्ञापन

यस सडकलाई दुई खण्डमा विभाजित गरी काम भइरहेको छ । बुटवल–बर्दघाट पश्चिम खण्ड र बर्दघाट–नारायणगढ पूर्वी खण्ड गरी दुई खण्डमा काम भइरहेको छ । पश्चिम खण्डको  भौतिक प्रगति ३२ प्रतिशत हाराहारीमा छ भने पूर्वी खण्डको प्रगति २९ प्रतिशतको हाराहारीमा रहेको सडक विभागका महानिर्देशक सुनिलबाबु ढकालले जानकारी दिनुभयो । 

यो सडक खण्डको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत्र ८ मा विस्तारको शिलान्यास गर्नुभएको थियो ।  सुरु भएको ४४ महिनामा काम सक्ने गरी शिलान्यास भएको यस सडकको म्याद नाघिसक्दा पनि कहिले सम्पन्न हुने अझै टुङ्गो छैन ।

नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो। कुल एक सय १३ किलोमिटर सडकमध्ये नवलपरासी [बर्दघाट–सुस्तापूर्व ]को गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाइउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो। दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ।

यो सडकको ४२.७ किलोमिटर खण्ड चार लेनमा तथा सहरी क्षेत्रको करिब १७।६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६–६ मिटरको सर्भिस लेनसमेत निर्माण हुने गरी सम्झौता भएको हो । दाइउन्नेको ४.१ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार गर्ने भनिएको थियो । जटिल भौगोलिक अवस्थाका कारण दाइउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको छ।

१६ अर्ब रुपियाँ कुल लागतमध्ये एडिबीले ८५ प्रतिशत ऋण लगानी गरेको छ । बाँकी रकम सरकारले व्यहोर्ने गरी निर्माण अघि बढाइएको छ। एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो।

विस्तारको काम नथाल्दै बुटवलबाट नारायणगढसम्म पुग्न करिब चार घण्टा लाग्ने यो सडक विस्तार सम्पन्न भएपछि समय कम लाग्ने आयोजनाको दाबी छ। तर, अहिले विस्तारको काम भइरहेकाले यो सडक खण्डको यात्रा ज्यादै कष्टकर छ।

बिज्ञापन
बिज्ञापन