राजनीति

रावल र भुसालप्रति ओलीको कटाक्ष : पार्टीको हितमा एक शब्द नबोलेका एकाध मान्छेले टिकट नपाउनु स्वाभाविक

बिज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै उनले अवसरै अवसर पाएकाहरूले सधैं टिकट पाउनुपर्ने छ र ? भनी प्रश्नसमेत गरे । 

बिज्ञापन

शनिवार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएर सो अवसर अरूलाई दिइएको स्पष्ट पारे । उनले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरू एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरूले फेरि टिकट नपाउनु स्वभाविक भएको उल्लेख गरे । उनले  त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । 

‘२०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु–अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ?’, ओलीले भने, ‘पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन पार्लियामेन्ट चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन । यस्ता कुराहरूको पछि नलाग्न पनि म हाम्रो साथीहरूलाई आग्रह गर्न चाहन्छु । कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यक्ता छैन ।’

ओलीले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिए । आवश्यक्ताभन्दा बढी अवसर पाएकाहरू फेरि पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने बताए । उनले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धता समेत व्यक्त गरे । 

अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे । उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहो¥याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मंसिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वाससमेत व्यक्त गरे

‘अब परमादेश होइन जनादेश खासगरी मंसिर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसिर ४ गतेको निर्वाचनबाट गर्दैछौं । त्यसकारण म सम्पूर्ण दाजुभाइ, दिदी-बहिनीहरूलाई यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्रै होइन । यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने भन्ने कुराको टुंगो लाग्ने निर्वाचन यस्तो फैसला गर्नुपर्नेछ , यस निर्वाचनबाट’, ओलीले भने, ‘म सम्पूर्ण नेपाली दाजुभाई दिदी-बहिनीहरूलाई आग्रह गर्न चाहन्छु–यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्ने गरीको निर्वाचनको रुपमा यसलाई अगाडि बढाउन म सबैलाई योगदान गर्न आग्रह गर्न चाहन्छु ।’

बिज्ञापन