लेख

कैलालीको पूर्वी क्षेत्र दूरदृष्टि नेताको अभाव

बिज्ञापन

परिवारका सदस्य मिलेर घर बनेको हुन्छ । व्यक्ति व्यक्ति मिलेर टोल समाज गाउँ शहर क्षेत्र जिल्ला हुँदै देश बनेको हुन्छ । घर भन्ने बित्तिकै भौतिक संरचना मात्रै होईन । संस्कृति परम्परा रहनसहन मौलिकता माया ममता जीवन निर्वाह जीविकोपार्जन का उपाय,परिवारका सदस्यको भूमिका अभिभावकत्व सही दिशानिर्देश समन्वयको खाँचो पर्छ । त्यसको साथै शिक्षा लागि बिधालय,स्वास्थको लागि अस्पताल,खानेपानी,सडक यातायात खेलकुद,मठमन्दिर, पाटी पौवा , बिजुली बत्ती,स्वतन्त्रता,न्याय र सुरक्षा समाजका लागि मानिसलाई चाहिने नभई नहुने यसरी आवश्यकताका आधारमा ती सबै एकले मात्रै परिपूर्ति गर्न सकिदैन । 

यसको लागि सामूहिक पहलले मानिसका चाहना,आवश्यकता ताजोपाजो जोरजुलम परिपूर्ति गर्ने माध्यम जुक्ति उपाय मन्थन हुँदै गन्तव्य बढ्दै जान्छन् । ती मानिसका आवश्यकताका निम्ति सामाजिक उत्तरदायित्व सामुहिक हित सर्वोपरि भलाइ मार्ग नै साझा गन्तव्य राजनीति हो । टोल सुधार,आमा समूहमा,सहकारी सञ्चालनका निम्ति पनि सदस्यको काम र कर्तव्य बाडफा गरिएको हुन्छ । सबैको जिम्मेवारी तोकिए हुन्छ अभिभारा तोकेको हुन्छ । नियम बनाइएको हुन्छ । सबै सदस्यले आफ्नो उत्तरदायित्व निर्वाह गरिरहेका हुन्छन् । त्यो भन्दा भद्दा खतम राज्य अर्थात सरकार उस मातहतका निकाय सञ्चालन भएको देख्दा पो दिक्क लाग्छ । समाज देश निर्माण गर्ने भनेको कसैलाई पद प्राप्ति गर्नु मात्रै होईन । दक्षता ज्ञान सीप कर्तव्य निपुणता कसैको धेरै कसैको कम होला । जिम्मेवारी लिनु र त्यसको इमान्दारीताका साथ पालना गर्नु सबैको कर्तव्य हुनजान्छ ।

राज्यशक्तिको श्रोत जनता हुन । सार्वभौमसत्ता अधिकार सम्पन्न राजकीय अधिकार नेपाली जनतामा निहित छ यो नेपालको संबैधानिक प्रदत्त अधिकार हो । सरकार बनाउने पनि जनता हुन,कर तिर्ने पनि जनता हुन ।त्यसैले विकास जनताका लागि हुनुपर्छ । नेता जनताको हुन सक्नुपर्छ । पार्टी देश र जनताका लागि हुनुपर्छ । जनप्रतिनिधि भनेको जनताको अभिभावक हो । जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्छ । जनताको सर्वोपरि हित भन्दा अर्को स्वार्थ हुनुहुदैँन । स्वार्थ हुन्छ त केवल जनताको हितमा,त्यसैले राजनीतिलाई पेशा होईन समाजसेवा मानिएको हो । 

हामी के गर्दै छौं ? राजनीतिलाई पेशा बनाउने अनि जनताको नाममा कमाउने धन्दा । भ्रष्टाचार,कमिसन,आसेपासे पोषाउने,मोटाउने,षड्यन्त्र जालसाजी किर्ते मनलाग्दी अचाक्ली आफूलाई सर्वेसर्वा ठान्ने जनताले नमस्कार अभिवादन गरेपनि नचिने झै गर्ने, नेतृत्व को हर्कत देखेपछि कर्मचारीको पनि चुरिफुरी बढ्ने नै भैहाल्यो । यो देशका मालिक,सर्वसत्तावादी,हामीले जे गरेपनि हुन्छ भन्ने मनोभावना नै भ्रष्ट र सामन्ती शैली हो । जस्तैः दम्भ अहंकार, घमण्ड, राज्यशक्तिको दुरुपयोग गरेर प्रचलित कानून विधान कर्तव्य,कर्तव्यबोध, उत्तरदायित्व जिम्मेवार नैतिकता अभिभारा भूतुक्कै बिर्सने ? यस्तोमा जनपक्षीय काम हुँदैन । त्यस्तो पार्टी, त्यसको नेतृत्व र सरकार संघ संस्था जनताप्रति समाजप्रति जवाफदेही हुन सक्दैनन् । 

बिज्ञापन

आफ्ना समस्या कसरी हल गर्ने होला त्यसको लागि सामूहिक निर्णय सर्वोपरि हितका साझा विधि प्रक्रिया नै लोकतन्त्र हो । लोकतन्त्र भन्नू नै जनहित जनपक्षीय साझा सवाल समाजको  आवश्यकता शान्ति सुरक्षा विकास शिक्षा रोजगार गरिबीको अन्त्य हरेक समस्याको हल गर्ने सामाजिक दायित्व हो।जति हुनुपर्ने थियोे, त्यति भएन । जे गर्नुपर्ने थियोे त्यो गरिएन । जनताको आवश्यक भन्दा नेतृत्व भोटको खेती गर्ने,काम सम्पन्न नहुँदै त्यसको श्रेय लिने गरिन्छ । सबैभन्दा अर्को रोचक पक्ष भनेको कमिसनको भ्रष्टाचारको चक्करमा विकास निर्माणकार्य गुणस्तरहीन बनाउने गरिन्छ । कुन भौतिक संरचना कति वर्ष टिक्ने हो भन्नेकुरा खुलस्त हुनुपर्छ । पारदर्शिता जवाफदेही दूरदृष्टि सम्बन्धित सरोकारवाला जिम्मेवारी लिएकाको पहिलो कर्तव्य हो । 

समय अनुसार मानिसका आवश्यक बढ्दै जान्छन् । समयको माग भनेको पनि समयको गतिसंगै आफूलाई त्यसैअनुरूप परिचालन गर्न सक्नुपर्छ । जस्तो अहिले ईन्टरनेटको जमानामा हुलाक सेवा त्यति प्रभावकारी मानिदैन । कुनै बेला हुलाको ठूलो भूमिका थियोे । त्यसैको परिस्कृत रूप छिटोछरितो ईन्टरनेट र समयअनुसारको त्यतिबेलाको हुलाक अहिले सान्दर्भिक हुँदैन । यो क्रामगत विकास हो, यो विकास मैले गरे ,गैते गरिनस भन्ने होडबाजी समयसापेक्ष मानिदैन । यसलाई सहजीकरण विस्तार र विकास गर्न सक्नुपर्छ । जनताले उपभोग गरेबापत कर ट्याक्स महसुल, पैसा तिरेर उपभोग गरिरहेका हुन्छ । आवश्यकता हेरेर सेवा सुबिधा थपघट गर्ने व्यावस्थित गर्ने जनताको पहुँच, सुरक्षामा उपभोगमा बन्चित गरिनु हुँदैन ।

लम्की,टीकापुर खक्रौला लगभग २८ किलोमीटर सडक पक्की  बनाउन हम्मेहम्मे पर्‍यो । ग्राभेल त टीकापुर स्थापन भएसंगै भएको थियोे । बल्लतल्ल यो क्षेत्रका सामाजिक संघसंस्थाहरू एकोहोरो सुगा रट्टान गरेर हारगुहार गरेर जसोतसो साँघुरोभएपनि पिच भयो । त्यसरी ठूलो हारगुहार,जनताको लामो अपेक्षा पछि त्यो पिच एक वर्ष नबित्दै त्यो पुरै खाल्डाखुल्डीमा परिणत भयो । चलेन पूर्ण रुपमा भत्कियो । अहिले यसको स्तर उन्नति भनेर निर्माणाधीन हुलाकी राजमार्ग अन्तर्गत यसको पुर्न निर्माण गर्ने भनेपछि यो क्षेत्रका जनता हौसिएका छन् । तर हिजोको जस्तै गुणस्तरहीन कच्ची साँघुरो कमसल सामग्रीको प्रयोग हुने त होईन भन्ने आशंका कायमै छ । बन्ने कहिले हो कति समय लाग्ने हो कस्तो बन्ने हो । हिजोको जस्तैः परिणति नहोस् । यो क्षेत्रका जनताको जीवन पद्धति संग जोडिएको । भारतको सिमाना देखि महेन्द्रराजमार्गसंग जोडिने अति आवश्यक सडक खण्ड हो । नबन्दै श्रेय लिनेकुरा अलि सुहाउँदैन कि ?

सत्ती छोटी भन्सारलाई स्तर उन्नति गरी मूल भन्सार बनाइएको छ । त्यो मूल भन्सार बनाएर मात्रै भएन त्यसको लागि सडक पहिलो प्राथमिकता हुनुपर्छ । भन्सार भएर मालसामान ल्याउन लिन सडक भएन भने भन्सारको के अर्थ हुन्छ  र ? पहिला गर्नुपर्ने पछि पछि गर्नुपर्ने पहिला गर्दा गरेको काम पनि त्यसको सान्दर्भिकता महत्त्व हराएर जान्छ । मूल भन्सारका लागि चाहिने पूर्वाधार छन् वा छैनन,क्वारेन्टाइन,चेकपोस्ट,आवश्यक दक्ष कर्मचारी जनशक्तिको खटन छन् वा छैनन् ? खाली भन्सार असुल्ने मात्रै ? जनताले राहत सहजता गर्नसक्नुपर्छ । भन्सार उठाउने लक्ष्य प्राप्ति मात्रै सफलता होईन, त्यसबाट आम नागरिक कति लाभान्वित भएकी भएनन् ? तिनको जीवनशैलीमा कस्तो प्रभाव पर्‍यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यहाँका जनताले तिरेको कर काठमाडौ लिएर भोगविलास गर्ने ? भन्सारबाट आयात मात्रै हुने ननिर्यात पनि हुनुपर्छ । निर्यात भएन भने घाटाको व्यापार हुन्छ । आयात जत्तिकै निर्यात अनिवार्य हुनुपर्छ । 

प्रदेश र स्थानीय तहलाई सिंहदरबारको अधिकार प्रत्यायोजन गरी राज्यशक्तिको अधिकार प्रयोग गरी जनताका कामकाज छिटोछरितो गर्ने,विगतमा पछि पारिएको क्षेत्र,वर्ग लिङ्ग जातजातिको समावेशी सहभागितामूलक प्रतिनिधित्व हुने, स्थानीय साधनस्राेतमा स्वतन्त्र पहुँच हुने,जनतालाई स्वायत्तता प्रदान गर्ने,राज्यले कुनैपनि नागरिकलाई सरकारी सेवा र राज्यले प्रदान गर्ने अधिकार विकास निर्माण बाड्फाडमा मतभेद गरिनेछैन भन्ने मूल मर्म संघीयताले दिनुपर्ने थियोे । जनताको आवश्यकता नजिकैको सरकारले बुझ्लान आफूले चुनेका जनप्रतिनिधि आफ्ना स्थानीय समस्यसंग साक्षर हुन्छन् । तिनीहरुले आफ्ना मतदाताको हरेक पिरमर्का सहयोगी होलान् । सरकार हाम्रो हो भन्ने आभास जनतालाई मिल्ला भन्ने ठूलो जनविश्वास आशा भरोसा गरेका थिए । तर उहीँ ताल दुरुस्त गतिविधि भ्रष्टाचार कमिसन शक्तिको आडमा भनसुनमा विकास बजेट खर्च गर्ने,पहुँचको आधारमा योजना तर्जुमा गरिन्छ । 

जनताको आवाज सुनिदैन,जनताको चाहना पुरा हुँदैनन् । विकास निर्माणमा मतभेद भेदभाव देखिन्छ । विकासले जनताको जीवनमा सकारात्मक प्रभाव पार्नुपर्ने हुन्छ । सर्वप्रथम पहिलो आवश्यकता पहिल्याउने, जनताको यो क्षेत्रको टड्कारो आवश्यकता समस्या समाधान सिद्ध हुनेगरी, त्यो क्षेत्र छेउछाउ मा बस्ने जनता लाभान्वित हुनुपर्छ । विकास निर्माण भनेको स्थानीय आधार,दीर्घकालीन दूरदृष्टिका साथ उपयोगी उपयुक्त हुनुपर्छ । राज्यले विकास गर्दा जनमैत्री अर्थात जनताको आवश्यकताका आधारमा,दैनिक जीवन कामकाजमा सहयोग पुग्ने हुनुपर्छ । तिनै जनताको रगतपसिना बाट बन्ने बनाइने विकास भोटको लागि कथित सस्तो लोकप्रियताको लागि देखावटी हुनु हुँदैन । टीकापुरका संस्थापक खड्गबहादुर सिंहले त्यस्तो सोचेको भए आजको यो टीकापुर हुने थिएनन् ।

चौडा चौडा सडक हरेक ब्लकमा ओपन स्पेस, रिङ्ग रोड हरेक ब्लक आवतजावतमा सहज हुने खालको निकास भएको  विकास गर्न सजिलो होस् भनेर अलगअलग ब्लकहरुको निर्माण, खानेपानी,टेलीफोन,हवाई मैदा,पार्क, औधोगिक क्षेत्र,व्यावसायिक क्षेत्र,व्यापारी क्षेत्र, कति लामो दूरदृष्टि राखेको देखिन्छ । विशेषगरी नेपालमा बहुदलीय व्यवस्था आइसकेपछि टीकापुरका पिताको देहावसान भैसकेछि टीकापुरको दिनगन्ती शुरु भएको मानिन्छन् । टीकापुर विकास समितिको नेतृत्व हड्प गरेर बिना प्रतिस्पर्धा ओपन स्पेस राम्रो राम्रो जग्गा आफन्त नातागोता आसेपासे चाकरी चाप्लुसी मिलेर रातारात आआफ्नो नाममा नामसारी गरे । प्लटिङ गरेर खानकै लागि विकास समिति बनाइएको हो भन्ने गलत बुझाइका कारण टीकापुरको विकासको गतिरोध हुनपुगेको थियोे । 

सार्वजनिक जग्गा बेचबिखन गरेर तलबभत्ता सेवासुविधा लिने भन्ने थिएन  । बाघ भालु बदेल भएको घना जंगललाई फडानी गरी  टीकापुरलाई मानव बस्ती बसाउनु भन्ने आदेश अधिकार दिएको हो । कम्तीमा सरकारी दरभाउ राखी बढ्की बढाउमा सार्वजनिक बोलपत्र आव्हान गरेर बेचेर  गरेर आयको पैसाबाट यहाँको भौतिक आवश्यक पूर्वाधार निर्माण मानिसलाई चाहिने आवश्यक पूर्वाधार तयार गर्नुपर्ने हुन्थ्यो । पछिल्लो समय त्यसलाई चटक्कै बिर्सेर राजनीति दलहरु समितिको नेतृत्व समाल्नेले त्यसको ठ्याक्कै उल्टोतिर हिड्ने चेष्टा गरे । त्यतिबेला बनाइएका जन्माइएका संस्थामा चरम राजनीतिको चपेटामा परे,पद नेतृत्वको लागि हानथाप खिचातानी हालीमुहाली जसको शक्ति उसैको भक्ति लुछाचुडी गरे । कारण अभीष्ट अनियमित गर्ने रजाइँ गर्ने नै थियोे । अहिले ती समितिले जन्माएका उधोगतिमा दुर्दशा भोग्दै छन् ।

चालु भएको टीकापुर विमानस्थलको स्तर उन्नति गर्नुपर्ने त्यसको व्यवस्थापन गरिनुपर्ने थियोे । आज उक्त विमानस्थल सञ्चालन गर्न यहाँका राजनीति दल स्थानीय सरकारको चासो दिएको देखिदैन । विमानस्थलको नाममा गैरकानूनी तरिकाले टीकापुर मालपोतबाट उठाएको पैसाबाट डेलिकेशनमा भ्रमणमा जाने,सामाजिक संजाल पत्रपत्रिकामा फोटो हाल्ने वाई वाई भनेको बाहेक हात लाग्यो शुन्य । मनलाग्दी खर्च । चुरिफुरी अर्कोले बोल्नै नपाइने बोल्यो कि सत्रुतापूर्ण व्यावहार देखाउने । भ्रष्टाचार गर्न दियो साझ दारु भट्टीमा तपाईं महान, विकासप्रेमी, नेता भनेको तपाई जस्तो हुनुपर्छ भनिदिनु पर्ने । यो क्षेत्रका जनताले तिरेको करको अपमानदुरुपयोग गर्नेहरु विकासका मुख्य बाधक हुन । जनताले माग माग्दैछन टीकापुर लगायत यो क्षेत्रमा यो भेगमा आएको समयमा ध्यानाकर्षण गराउने माग राख्ने काम नभएको होईन तर टेरपुच्छर लाग्दैन । कति प्रधानमन्त्री आए भूतपूर्व प्रधानमन्त्री, मन्त्री, सांसदहरू भए आए गए, यो क्षेत्रहरू बाट प्रतिनिधित्व गर्नेहरू कसैले पनि टीकापुर लगायत यो क्षेत्रको विकासका लागि अग्रसरता देखाउन सकेनन् । भाषण सुन्ने हो भने त के के न गर्छन् कि क्या हो । 

भएको बनाएको सञ्चालनमा आएका संस्था बाटा सडक,कुलो को स्तर उन्नति संरक्षण सम्बर्द्धन गर्न सकिएन । नयाँको अपेक्षा राख्नु त्यति अतिसूक्ति नहोला । अनि मात्र राज्यशक्तिको प्रयोग भएको,जनतमतको कदर अपेक्षा विश्वास, चाहाना पूरा नभएको,पाएको जिम्मेवारी, आएको कर्तव्यलाई कर्तव्यबोध नगर्नु, यो पूरा नभएकोले जनतामा निराशा छाएको हो । जनताको शक्तिलाई सकारात्मक दूरदृष्टिमा रुपान्तरण गर्नु नेतृत्वको कर्तव्य हो । कम बोल्ने धेरै गर्नेगराउने । भत्केको बिग्रेको एक पटक शिलान्यास एक पटक उद्घाटन, कमिसन कमजोर निर्माण, पुर्न स्तर उन्नति र सुधार बाँकी कुनै समस्या नै छैनन् जस्तो । एउटै बिगार्ने भत्काउने निर्माण स्तर उन्नति फेरि भत्काउने फेरि उद्घाटन भोटको खेती निरन्तर चलिरहेको छ्न। समयको बर्बाद जनताले सकिनसकी तिरेको करको दुरुपयोग मात्रै । बाँकी जनता जनता नै होईन र ? भरत ब. बिष्ट टीकापुर, कैलाली ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply