बिश्व

विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया

बिज्ञापन

काठमाडौं । श्रीलंकाको अर्थतन्त्र चरम संकटमा परिरहेका बेला एउटा अन्तर्राष्ट्रिय संस्थाले विश्वभरमै आर्थिक मन्दी आउने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी हुनसक्ने प्रक्षेपण गरेको हो ।

आईएमएफद्वारा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुक अपडेट २०२२ मा विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.२ प्रतिशत हुने र सन् २०२३ मा २.९ प्रतिशत घट्ने प्रक्षेपण गरिएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा चीन र रुसमा आएको मन्दीका कारण विश्वव्यापी उत्पादन संकुचित भएको छ । महामारीले पहिल्यै कमजोर भएको विश्व अर्थतन्त्रमा अन्तर्राष्ट्रियस्तरमा देखिएको युद्धको झट्काले झनै असर पारेको छ । कोरोना महामारीले असर पारेको सन् २०२० मा भने विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले नकारात्मक थियो ।

अहिलेको एडभान्स इकोनोमी भनिएका मुलुकहरु अमेरिका, जर्मनी, फ्रान्स, इटली, स्पेन, जापान, बेलायत, क्यानडालगायतका देशको आर्थिक वृद्धिदर समग्रमा सन् २०२२ मा २.५ प्रतिशत र सन् २०२३ मा १.४ प्रतिशत रहनेछ ।

बिज्ञापन

महंगी नियन्त्रणभन्दा बाहिर जाने

युक्रेन युद्धले रसियाबाट आयात हुने ग्यास अचानक रोकिनसक्छ । सोचेभन्दा कडा श्रम बजार हुनसक्छ, जसले गर्दा महंगी नियन्त्रणभन्दा बाहिर जानसक्ने आंकलन गरिएको छ ।

विश्वव्यापी मन्दीका कारण एसियाको उदीयमान अर्थतन्त्र भएको चीनलाई पनि दबाबमा पार्नसक्ने आईएमएफको आकलन छ ।

खाद्य र ऊर्जाको मूल्यका साथै आपूर्ति/माग असन्तुलनमा सुस्तताका कारण विश्वव्यापी मुद्रास्फीति परिमार्जन गरिएको छ । यो वर्ष उन्नत अर्थतन्त्र भएका देशहरुमा ६.६ प्रतिशत र उदीयमान बजार र विकासशील अर्थतन्त्र भएका देशहरुमा ९.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

अमेरिकाको शक्ति एसियाले खोस्छ : विज्ञ

विश्व आर्थिक संकटमा गएपछि अमेरिकाको दबदबा खोसिने विज्ञहरुले बताएका छन् । विश्वमा जबजब संकट आउँछ, त्यतिबेला मान्छेले खाद्यान्न, पानी, लत्ताकपडा, ग्यास, मट्टीतेल खोज्ने हुन् । यी चिजहरु एसियामा सबैभन्दा बढी छ । यसकारण अमेरिकी शक्ति एसियातिर सिफ्ट हुने प्रा.डा. दिलनाथ दंगाल बताउँछन् ।

उनी भन्छन, ‘कुन देश कति धनी छ भनेर मापन गर्ने भनेको ऊसँग कति पेट्रोल, बिजुली, खाद्यान्न छ भन्ने हो । जोसँग यो सबै हुन्छ ऊ नै धनी हुने हो ।’

अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका, चीन र जापानको छ । भारत पनि उदीयमान अर्थतन्त्र भएको देश हो । पछिल्लो समय अहिले अर्थतन्त्र पनि डिजिटलाइज भइरहेका कारण दिनदिनै अर्थतन्त्र परिवर्तन भइरहेको छ । कुनैवेला अमेरिकामा कुनै वस्तु लन्च भयो भने नेपाल आउन वर्षौं लाग्थ्यो, अहिले तत्काल आइपुग्छ ।

बिज्ञापन
बिज्ञापन