Climate

यस वर्ष कम वर्षा हुने आँकलन, तापक्रम बढ्न सक्ने

बिज्ञापन

काठमाडौं, वैशाख २८ गते । यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतले छ । 

जेठ १८ गतेदेखि असोज १३ गतेसम्म कोशी प्रदेशका मध्य तथा उत्तर पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणपूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी  हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना छ । 

देशका धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भूभाग (कैलाली,कञ्चनपुर, बैतडी र बझाङ) , कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । 

यस्तै अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी, उत्तरी तथा पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी तथा मध्य भूभाग, बागमती प्रदेशका मध्य तथा दक्षिणी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भूभागमा सरदर भन्दा बढी सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । 

बिज्ञापन

न्यूनतम तापक्रमतर्फ सुदूरपश्चिम प्रदेशका मध्ये भूभाग, कर्णाली प्रदेशका मध्ये पश्चिम भूभाग, गण्डकी प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेश प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने बाँकी भूभागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । मौसमविद् इन्दिरा कँडेलका अनुसार आगामी मनसुनको प्रक्षेपण विभिन्न सामुन्द्रिक,वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय प्रणालीमा निर्भर रहेर गरिएको हो । 

उहाँका अनुसार नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थामा आधारित भएर तयार परिएको हो । 

उहाँले भन्नुभयो, “नेपालको मनसुन सिजनको जलवायुमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने वायुको प्रभाव र हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको आधारमा अनुमान गरिएको हो ।” प्रशान्त महासागरमा विकसित हुने वायुको प्रभाव बढी हुँदा नेपालमा कम मात्रामा पानी पर्ने सम्भावना रहन्छ भने हिन्द महासागरमा विकसित हुने ध्रुवीय प्रणाली बढी सक्रिय हुँदा नेपालमा बढी पानी पर्ने सम्भावना रहने उहाँ बताउनुहुन्छ । 

अहिले प्रशान्त महासागरमा विकसित भएको वायुको प्रभाव बढी भएका कारण नेपालमा कम मात्रामा पानी पर्ने आँकलन गरिएको उहाँको भनाइ छ । यस्तै युरोप र एसिया महादेशमा हिउँदमा परेको हिउँका आधारमा पनि नेपालको मनसुनमा पर्ने वर्षाको आँकलन गरिएको  उहाँको भनाइ छ । 

नेपालको सन्दर्भमा काठमाडौंमा एक हजार ९२ मिलिमिटर सम्म परेको वर्षालाई न्यूनतम वर्षा मान्ने गरिएको छ भने एक हजार २५७ मिलिमिटरभन्दा माथि भए यसलाई औसतभन्दा बढी वर्षा भएको मानिने उहाँको भनाइ छ । 

यस्तै काठमाडौं बाहिर पोखराको हकमा भने दुई हजार ७३७ मिलिमिटर पानी परे न्यूनतम वर्षा भएको मान्ने गरिएको छ भने तीन हजार ५०८ मिलिमिटर माथि भएको वर्षालाई औसतभन्दा बढी वर्षा भएको मानिने कँडेलको भनाइ छ । 

गत वर्ष देशका अधिकांश स्थानमा  देशका अधिकांशमा सरदरभन्दा बढी वर्षा भएको मापन गरिएको थियो भने केही स्थानमा सरदर वा सरदर भन्दा कम वर्षा भएको मापन गरिएको थियो ।

बिज्ञापन
बिज्ञापन