राष्ट्रिय समाचार

फेसबुकहरुमा जथाभावी गर्ने सबै प्रहरी फन्दामा

बिज्ञापन

सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितावारे प्रहरी प्रधान कार्यालयले पुनः स्मरण गराएको छ । फेसबुक,ट्वीटर,युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा पोस्ट,सेयर,ट्याग, कमेण्ट,लिंक सेयरिङ, ट्विट तथा रि–टिवट् गर्न नपाइने प्रावधान भएपनि प्रहरीहरुले अटेर गरेको कार्यालयअन्तर्गत सुपरीवेक्षण तथा अनुगमन महाशाखाले बताएको छ ।

‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यदेश,२०७७’ मा समावेश भएका सामाजिक सञ्जालको ‘गाइड लाइन’ विपरीत कार्य गर्दा प्रहरीको छविमा नकारात्मक प्रभाव परेको महाशाखाको ठम्याइ छ । गत कात्तिक ३ गते सूचना जारी गर्दै उक्त कार्य–गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको महाशाखाले बताएको छ ।

भनिएको छ,‘प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने खालका सामग्रीहरु फेसबुक, ट्वीटर,युट्युब, टिकटकलगायतमा पोस्ट, सेयर,ट्याग,कमेण्ट, लिंक सेयरिङ, ट्विट तथा रि–टिवट् नगर्ने भनी परिपत्र गर्दासमेत उल्लेखित कार्य–गतिविधिहरु प्रकाशन–प्रशारण भइरहेको पाइएको हुँदा उल्लेखित अनुशासनहीन कार्यप्रति यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आचारसंहिताविपरीत कार्य गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिँदै महाशाखाले कार्यादेश, २०७७ को १९, १० र २१ नम्बरमा उल्लेखित प्रहरीले गर्न हुने र गर्न नहुने कार्यबारे जानकारी र कडाइका साथ पालना गराउन भनेको छ ।

बिज्ञापन

त्यस्तै,अब पनि कुनै प्रहरीबाट आचारसंहिताविपरीत कार्य भएको पाइएमा संलग्न प्रहरीसहित सुपरीवेक्षक कमाण्डरलाई समेत सो कार्यमा जिम्मेवार बनाई प्रहरी नियमावली, २०७१ बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिइएको छ ।

‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ को बुँदा १८ मा साहित्यिक लेख,रचना प्रकाशनबारे उल्लेख छ । प्रहरी कर्मचारीले विशुद्ध साहित्यक लेख रचनाबाहेक अन्य व्यवसायिक लेख रचना प्रकाशन गर्न गराउन वा त्यस्ता सिर्जनामा अभिनय गर्नुपूर्व केन्द्रीय–प्रदेश प्रहरी प्रवक्ताबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी, कुनै पनि किसिमको लेख रचनाबाट प्रहरीको आन्तरिक सूचना चुहावट गर्न पाँइदैन । राष्ट्र, नागरिक,नेपाल प्रहरीलगायत कुनै पनि संघसंस्थाको गरिमामा आँच नआउने खालको लेख, रचना हुनुपर्छ ।

बुँदा नम्बर १९ मा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचरण समावेश गरिएको छ । प्रहरीले अश्लील तस्बिर, भिडियो, लेख तथा साइटहरु सामाजिक सञ्जालमा अपलोड, लाइक, शेयर र कमेण्ट गर्न पाँउदैनन् । राजनीतिक, धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोलिने सामग्री पोस्ट गर्न र कुनै व्यक्ति संस्था, निकायमाथि आक्रामक टिकाटिप्पणी तथा गालीगलौज गर्न निषेध गरिएको छ ।

प्रहरीका नीति तथा निर्णयहरु र नेपाल सरकारका गतिविधिहरुविरुद्धका सामग्रीहरु, सरकारी तथा गैरसरकारी कार्यालयहरुको उच्च पदस्थ कर्मचारीहरुविरुद्धलगायतका सामग्री सामाजिक सञ्जालमा राख्न नहुने आचारसंहितामा उल्लेख छ ।

प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा गर्न हुने र नहुने कार्यहरु बुँदा नम्बर २० ले समेटेको छ । उक्त बुँदामा उल्लेख भएअनुसार प्रहरीले नेपाल सरकार, व्यवस्थापिका संसद्, अदालत, विभिन्न संघसंस्थालगायतका कुनै पनि सरकारी, गैर सरकारी निकायका क्रियाकलापप्रति आलोचनात्मक प्रतिक्रिया दिने वा त्यस्तो आशय झल्किने क्रियाकलाप गर्न पाउने छैनन् ।

अनलाइन न्यूजहरुमा प्रकाशित विभिन्न व्यक्ति, जातजाति, धर्म, संस्कृति, राजनीतिक विचारजस्ता लेखहरुमा टिकाटिप्पणी गर्न प्रहरीलाई रोक लगाइएको छ । प्रहरी कार्यालयको सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि व्यक्तिका बारेमा सूचना वा समाचार सम्प्रेषण गर्दा प्रचलित कानुनबमोजिम गोपनीयताको हक, मानवअधिकारको समेत पालना गर्नुपर्नेलगायतका प्रावधान छन् ।

बिज्ञापन
बिज्ञापन