राष्ट्रिय समाचार

स्थानीय तह चुनावका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने काम सुरु

बिज्ञापन

काठमाण्डौ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम आज सोमवारदेखि सुरु भएको छ ।

बिज्ञापन

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज सोमवार प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको प्रवक्ता शर्माले बताउनुभयो ।
मतपत्रमा सबैभन्दा धरै काठमाण्डौको मतपत्र ५६ लहरको हुने र सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुने प्रवक्ता शर्माले बताउनुभयो । दुर्गममा ढुवानीको समस्या हुने र समय लाग्ने भएकाले पहिला दुर्गमको मतपत्र छापिसकेपछि मात्रै सुगम जिल्लाका लागि मतपत्र छापिने आयोगले जनाएको छ । आयोगले देशका विभिन्न ठाउँमा चुनावसँग सम्बन्धित विभिन्न प्रशिक्षण सम्पन्न गरेको पनि जानकारी दिएको छ ।

यसैबीच निर्वाचन आयोगले विभिन्न दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने शुल्क र प्रक्रिया पनि तय गरेको छ । दलको आधिकारिक पत्रका आधारमा देशैभरका मतदाताको नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने र यसका लागि सात हजार रुपैयाँसहित निवेदन दिनुपर्नेछ । यस्तै कुनै प्रदेशका मतदाताको नामावलीका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै जिल्लामा दल वा उम्मेदवारको सिफारिसका आधारमा तीन हजार रुपैयाँ तिरेर मतदाता नामावली पाइनेछ भने कुनै पालिकाभरका मतदाताको नामावलीका लागि एक हजार र वडाका मतदाताको नामावलीका लागि पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । मतदाताको विद्युतीय प्रति मात्रै दिइने आयोगले जनाएको छ ।

बिज्ञापन