राजनीति

निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको ओलीको आरोप

बिज्ञापन

काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न सो पार्टीको पहिलो पोलिटब्यूरो बैठकमा आज सम्बोधन गर्दै उनले निर्वाचनलाई तोकिएको समयमा निष्पक्षरुपमा गराउने सन्दर्भमा सकारात्मक सङ्केत नदेखिएको र त्यस्ता षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे ।

अध्यक्ष ओलीले निर्वाचन चिन्हको रङग बदल्ने जस्ता निर्णयमा पनि सत्ता गठबन्धनसँगको साँगगाँठका आधारमा आयोगले एमालेविरुद्ध निर्णय गरेको आरोप लगाउँदै पार्टी प्रवेशको लहर जारी रहेकाले आगामी निर्वाचनमा नेकपा एमाले एकल बहुमत प्राप्त गरेर सरकार चलाउने बताए ।

उनले राष्ट्रिय हितको रक्षा र स्वाभिमानलाई अगाडि बढाउन छिमेकीलगायत विभिन्न मुलुकसँग थप सम्बन्ध विस्तारका लागि पार्टी अग्रसर रहेको जानकारी दिए ।

बिज्ञापन

दशौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो पोलिटब्यूरो बैठकमा समसामयिक राजनीतिकस्थितिको विश्लेषण‚ स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र‚ उम्मेदवार छनौटको मापदण्डलगायतका विषयमा छलफल हुनेछ ।

यही चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्यूरो बैठक बस्न लागेको हो ।

बिज्ञापन
बिज्ञापन