राजनीति

मन्त्री दम्पती एउटै क्षेत्रमा फरक पार्टीबाट सांसद उम्मेदवार सिफारिस

बिज्ञापन

काठमाडौं । पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पती प्रतिनिधिसभा सदस्यका लागि आ-आफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन् ।

वागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धर नेकपा एसबाट काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकलरूपमा सिफारिस भएको हो । सोही क्षेत्रबाट मानन्धरपत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएकी छन् । एमालेका क्षेत्रीय कमिटी बैठकले पन्तसहित तीनजनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ ।

मानन्धर एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागे पनि पत्नी इन्दिरा पन्त भने एमालेमै छिन् । उनी एमालेको महाधिवेशनमा समेत प्रतिनिधि थिइन् भने महानगरपालिकाको मेयरको उम्मेदवारमा पनि सिफारिस भएकी थिइन् ।

बिज्ञापन

नेकपा एसले काठमाडौं २ बाट माधव नेपाल नलड्ने भएपछि त्यसको साटो वसन्त मानन्धरका लागि काठमाडौं ७ मा दाबी गरेको छ । तर, गठबन्धनबाटै जसपाका नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एमाले नेतृ पन्तले आफू पार्टीबाट उम्मेदवारको आकांक्षी रहेको र नाम पनि सिफारिस भइसकेको बताइन् । पति फरक पार्टीमा रहेकाले अर्को पार्टीबाट को उम्मेदवार बन्छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन