Sudur Pradesh News

नागरिक उन्मुक्ति तटस्थ बस्दा सुदुरपश्चिममा सभामुख चयन अन्योल

बिज्ञापन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको शनिबार साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएकाे हाे ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उनको समर्थकमा पृथ्वीबहादुर सिंह छन् ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) की जानकी ऐर बमले राख्नुभएको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल छिन् ।

बिज्ञापन

शनिबार बसेको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित थिइन् । नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बसेका थिए । सभामुखको भूमिकामा रहेका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिनन् ।

सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । यसअघि बिहीबार बसेको बैठकमा भएको सभामुख निर्वाचनसम्बन्धी दुई प्रस्ताव पनि आवश्यक बहुमत नपुग्दा अस्वीकृत भएको थियो ।

उक्त दिनको मत विभाजनमा सत्ता पक्ष एमालेका एक र नागरिक उन्मुक्तिका एक सदस्य अनुपस्थित हुनु भएको थियो भने सत्ता पक्षकै एक सदस्यको मत बदर भएको थियो ।

शनिबारको बैठकमा सभामुखको भूमिकामा रहेका भट्टले सभामुख चयन गर्न आवश्यक बहुमत सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए ।

भण्डारी सत्ता पक्ष नेकपा (माओवादी केन्द्र)का तर्फबाट र रावल नेपाली कांग्रेसका तर्फबाट सभामुखको उम्मेदवार छन् । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपाका सदस्यले मत जाहेर गरेका थिए । रावलको पक्षमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र सदस्यले मत जाहेर गरेका थिए ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य छन् ।

शनिबारको बैठकको प्रारम्भमा दिइएको विशेष समयमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, माओवादी केन्द्रका रमेशसिंह धामी, एमालेका धर्मराज पाठक, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले समसामयिक विषयमा धारणा राखेका थिए । अर्को बैठक यही माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । आउने माघ २ गते यो अवधि पूरा हुँदैछ ।

बिज्ञापन
बिज्ञापन