आस्था /आध्यात्म

थारु समुदायमा माघ (माघी) पर्वको उल्लास सुरु

बिज्ञापन

धनगढी, पुस ३० गते । तराईका भूमिपुत्र आदिवासी जनजाति थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । तीन दिनसम्म धूमधामसँग मनाइने यो पर्वलाई थारु समुदायका मानिसले पुस अन्तिम दिनबाट मनाउने गर्दछन् । माघ यो समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि हो ।

भोलि माघ १ गतेबाट थारु सम्वत् २६४६ सुरु हुने जनाइएको छ । माघ पर्व सुरु भएसँगै थारु गाउँवस्तीमा उल्लास बढेको छ । गाउँघर माघ सम्बन्धित गीतले गुञ्जायमान छ । 

माघ पर्वको पहिलो दिन वर्षदिनभरको दुःख, पीडा बिर्सेर मिठो मसिनो खाएर रमाउने चलन छ । यो दिन सबैको घरमा अनिवार्य रूपमा सुँगुरको मासुलगायतका परिकार पाक्ने गर्दछ । माघको पहिलो दिनलाई ‘जिटा मर्ना’ पनि भन्ने गरेको पाइन्छ । 

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीकाअनुसार पहिलो दिन गाउँघरमा मीठो खाने, नाचगान गरेर रमाइलो गर्ने चलन छ । माघमा थारु समुदायका मानिसले मघौटा नाच नाच्ने, डफको तालमा धमार र ढुमरु गीत गाउने गर्दछन् । कतै–कतै रातभर नाचगान गरेर जाग्राम बस्ने चलन पनि छ । 

बिज्ञापन

माघ १ गते माघ पर्वको सबैभन्दा विशेष दिन र थारु समुदायको नयाँ वर्ष हो । यो दिन बिहानै नदी, तलाउ, पोखरीमा नुहाउने, पुर्खा, मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । नयाँ–नयाँ कपडा लगाएर घरपरिवार, इष्टमित्र, आफन्तको घरमा गएर सेवा ढोग लाग्ने चलन छ ।

यसैगरी, नयाँ वर्ष रहेकाले एक अर्काबीच खुसीयालीसहित शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको दिन ढिक्री, मासु, तरुललगायतका परिकार खाने चलन रहेको छ । 

पर्वको अन्तिम दिन घरपरिवार, गाउँ समाजको नयाँ नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । यो दिनलाई ‘खोज्नीबोज्नी वा माघी देवानी’ भन्ने गरिन्छ । यसैगरी, खिचडी भात खाने र खिचडी मेलापात गर्न जाने गरेकाले ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । 

माघ पर्वमा थारु समुदायका मानिसले बितेको वर्षदिनको समीक्षा र आगामी वर्षभरका लागि योजना बनाउने गर्दछन् । विगतमा माघ पर्वको बेलामात्रै तत्कालीन कमैयाले बिदा पाउने गरेकाले मुक्त कमैयाले यस पर्वलाई स्वतन्त्रताको पर्वको रूपमा पनि मनाउने गर्दछन् । 

माघ पर्वको अवसरमा विभिन्न ठाउँमा माघ मेला तथा महोत्सव आयोजना गरिएका छन् ।

बिज्ञापन
बिज्ञापन