राजनीति

आजबाट चार दिन झापामा चुनावी अभियान सञ्चाल गर्दै अध्यक्ष ओली

बिज्ञापन

११ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन प्रचार अभियानका लागि आज झापा आउनु हुने भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली आजबाट चार दिन झापामा रहेर चुनावी प्रचार अभियानमा रहनु हुने भएको हो ।

एमाले झापाका अनुसार भद्रपुरमा आयोजना हुने कार्यक्रम सहित गरेर अध्यक्ष ओली १३ वटा स्थानीय स्तरका भेला र भेटघाटहरुमा सहभागी हुनु हुनेछ । एमाले पोलिटव्यूरो सदस्य एवं झापा ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार आज २ बजे भद्रपुर आइपुगेलगत्तै अभियान सुरु हुनेछ । आज उहाँले भद्रपुरमा आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्नुहुनेछ ।

स्थानीय सिटी गार्डेन होटलमा आयोजना हुने कार्यक्रमलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । दाहालका अनुसार अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक वडा नं ५, ८ र ९ तथा दिउसो ५ बजे दमकस्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नुहुनेछ ।

यसैगरी भोली अर्थात कात्तिक १२ गते दमक वडा नं ३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ । यसैगरी कमल गाउँपालिकाको बाह्रघरेमा आयोजना हुने मतदाता तथा कार्यकर्ता भेलामा दिउसो १२ बजे अध्यक्ष ओली सहभागी हुने कार्यक्रम छ । भोली नै दमकको दिउसो २ बजे वडा नं ९ र १० को संगम चोकमा आयोजना हुने भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

यस्तै अपरान्ह ४ बजे दमक वडा नं १ र २ का स्थानीय बासिन्दाहरुसँग हिमालय माध्यमिक विद्यालयमा अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ । पोलिटव्यूरो सदस्य दाहालका अनुसार कात्तिक १३ गतेका कार्यक्रम गौरादह र गौरीगञ्ज केन्द्रीत छन् । जस अनुसार विहान ११ बजे दामुना बजारमा आयोजना हुने भेला तथा अन्तरक्रियालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । दिउसो १.३० बजे गौरादहको हाँसखोरामा आयोजना हुने भेलामा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । यस्तै २.३० बजे पुरानो गल्डुबा बजारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।

यस्तै ३.३० बजे जुरोपानी चोक शिवालय सभाहलमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । अपरान्ह ४.३० बजे अध्यक्ष ओली गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुने दाहालले जानकारी दिनुभयो । कात्तिक १४ गते बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीका निर्वाचन परिचालन कमिटीका संयोजक दाहालले प्रत्येक भेलामा अधिक मतदाता र कार्यकर्ताहरुलाई सहभागी गराउन प्रत्येक टोल कमिटीलाई निर्देशन दिइएको बताउनुभएको छ । भेलामा चुनावी तालमेल गरेको राप्रपाका कार्यकर्तालाई पनि सहभागी गराउन भनिएको छ ।

भेलामा विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जनजीविकाका सवालहरुसँग सम्बन्धित सुझावहरु अध्यक्ष ओलीलाई दिन सकिनेछ । झापा बसाईको क्रममा अध्यक्ष ओलीले अन्य भेटघाटका कार्यक्रमसमेत तय गरिएको छ ।

बिज्ञापन
बिज्ञापन