November 27, 2022

मालिका समाचार

देशकाे ऐना

माओवादी र का‌ग्रेस मिलेर रोल्पाबाट शान्ति र सहकार्यको सन्देश दिन चाहन्छौंः पुन

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

रोल्पा । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सशस्त्र माओवादी जनयुद्धको उद्गम थलो रोल्पाबाट का‌ग्रेस र माओवादी सहकार्यको सन्देश दिन चाहेको बताएका छन् ।

पुनले रोल्पामा माओवादी एक्लैले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न सक्ने बलियो आधार हुँदाहुँदै राष्ट्रियस्तरमै दुई दलबीचको सहकार्यको विश्वासिलो वातावरण बनाउन मिलेर उम्मेदवारी दिइएको बताए । विगतमा दुई फरक ध्रुवमा रहेर भिडेका शाक्ति का‌ग्रेस र माओवादी मिल्दामात्र समाजमा शान्ति स्थापना हुने तथा मेलमिलापको वातावरण बन्न सक्ने उनको भनाइ थियो ।

विज्ञापन
विज्ञापन

रोल्पा प्रदेश (ख) मा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।

माओवादी जनयुद्धमा आमनेसामने भएका दुई शक्तिबीचको सहकार्यले मात्र शान्ति प्रक्रियालाई पूर्णता दिन र समाजमा मेलमिलाप स्थापित गर्न सहज हुने उपमहासचिव पुनको भनाइ थियो । ‘जुन शक्तिका बीचमा लडाइँ भयो, ती शक्ति मिलेरमात्र समाजमा शान्ति कायम हुने हो’, गठबन्धन दलद्वारा रोल्पाको घर्ती गाउँमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा पुनले भने, ‘जसलाई द्वन्द्वको घाउले दुःखाएको छ, शान्तिको महत्व उसलाई जति अरुलाई थाहा हुँदैन ।’

उनले कांग्रेस-माओवादी सहकार्य चुनावपछिको सरकारका लागि मात्र नभई संविधान र लोकतन्त्र मास्न र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि भएको तर्क गरे । ‘पटकपटक संविधान र लोकतन्त्र मास्ने प्रयास भयो’, उनले भने, ‘हिजो हामी मिलेर त्यो प्रयास असफल पारेका हौं । संविधान र व्यवस्थाको रक्षाका लागि हामी मिल्नुपर्ने बाध्यात्मक अवस्था आएको छ ।’

पुनले गठबन्धनको उद्देश्य मुलुकमा दिगो शान्ति, राजनीतिक स्थायित्व तथा विकासको तीव्रता भएको बताए । माओवादी र कांग्रेस दुवै दलका कार्यकर्तालाई उनले विगतका तीक्तता बिर्सिएर राष्ट्रिय आवश्यकताका आधारमा मेलमिलाप र सहकार्यको हात बढाउन अपिल गरे ।

पूर्वअर्थ र ऊर्जामन्त्री रहेका पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । यसअघि २०७४ को निर्वाचनमा पनि उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।