National Election

सातै प्रदेशमा सत्ता गठबन्धन बहुमत उन्मुख

बिज्ञापन

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । अहिलेसम्मको परिणामअनुसार देशका अधिकांश प्रदेशमा वर्तमान सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।

बिज्ञापन

समानुपातिकतर्फको अन्तिम मतपरिणाम आउन बाँकी भएकाले त्यसको यकिन विवरण छैन । तर, बुधबार बिहानसम्मको विवरणका आधारमा सात प्रदेशमध्ये चार प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने स्पष्ट देखिन्छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चालगायतको बहुमत देखिन्छ । तर, दलगत रुपमा भने अधिकांश प्रदेशमा नेकपा एमालेको मत अरूको भन्दा बढी छ ।

समानुपातिक मतमा मधेस प्रदेशमा बाहेक सबै प्रदेशमा एमाले सबैभन्दा अगाडि देखिएको छ । मधेसमा नेपाली कांग्रेस अगाडि छ ।

प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ एमाले प्रदेश–१ मा अन्य दलभन्दा अगाडि रहेको छ । यद्यपि एमालेले एक्लैले सरकार बनाउने अवस्था देखिँदैन र छैन पनि । एमालेसँग चुनावी तालमेल गरेका राप्रपा र जसपा समानुपातिकमा कम्तीमा १ सिट ल्याउन सक्ने ठानिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल नेशनल अर्गनाइजेसनसँग मिलेर एमालेले सरकार बनाउन सक्ने समेत चर्चा गर्न थालिएको छ ।

प्रदेश–१ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ गरी ९३ जना सदस्य चयन हुनेछन् । त्यहाँ एमालेले प्रत्यक्षतर्फ २५ स्थानमा जितको छ भने समानुपातिकतर्फ हालसम्म ६ लाख २९ हजार ८९६ मत ल्याएको छ ।

यस्तै, मधेस प्रदेशमा पनि प्रत्यक्षतर्फ नेकपा एमाले अघि देखिएको छ । एमालेले प्रत्यक्षतर्फ १५ स्थानमा जित हासिल गर्दा समानुपातिकमा हालसम्म ३ लाख ३८ हजारभन्दा बढी मत पाएको छ । यस्तै, मधेशमा कांग्रेसले प्रत्यक्षमा १३ स्थानमा जितेको छ भने समानुपातिकतर्फ अहिलेसम्म सबैभन्दा बढी ३ लाख ७३ हजारभन्दा बढी मत पाएको छ ।

यस्तै, जसपाले प्रत्यक्षतर्फ ९ स्थानमा जितेको छ भने समानुपातिकमा २ लाख ७३ हजारभन्दा बढी मत ल्याइसकेको छ । तैपनि समानुपातिकमा जनमत पार्टी जसपाभन्दा अगाडि छ । जसपाले प्रत्यक्षतर्फ ६ सीट जितेको छ भने समानुपातिकमा २ लाख ८५ हजारभन्दा बढी मत पाइसकेको छ ।

मधेशमा प्रत्यक्षतर्फ ७ स्थानमा लोसपा, ४ स्थानमा माओवादीले र समाजवादीले जितेका छन् भने ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यस्तै, वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस २४ स्थानमा विजयी भएको छ भने माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा समाजवादीले ५, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक–एक स्थानमा जितेका छन् ।

वाग्मतीमा बुधबार बिहानसम्म समानुपातिकतर्फ एमालेले ५ लाख ५४ हजारभन्दा बढी मत पाएको छ भने कांग्रेसले ४ लाख ६३ हजारभन्दा बढी र एउटै चिह्न लिएर चुनाव लडेका माओवादी र नेपाल समाजवादीको २ लाख ६९ हजारभन्दा बढी मत पाइरहेका छन् ।

बागमतीमा राप्रपाले २ लाख ६६ हजारभन्दा बढी, नेमकिपाले ६७ हजारभन्दा बढी, नेकपा एकीकृत समाजवादीले ६३ हजारभन्दा बढी र हाम्रो नेपाली पार्टीले ४६ हजारभन्दा बढी मत पाएका छन् । वाग्मती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी ११० जना सदस्य चयन हुनेछन् ।

यस्तै, गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस १६, नेकपा एमाले १२, माओवादी केन्द्र ४ तथा नेपाल समाजवादी पार्टी एक स्थानमा विजयी भएका छन् । यहाँ एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले ३ लाख ४० हजारभन्दा बढी मत सहित अग्रस्थानमा रहेको छ ।
नेपाली कांग्रेसको ३ लाख १७ हजारभन्दा बढी, एउटै चिह्न लिएर चुनाव लडेका माओवादी र नेपाल समाजवादीको १ लाख १५ हजारभन्दा बढी, राप्रपाको ५७ हजारभन्दा बढी, हाम्रो नेपाल पार्टीको १८ हजारभन्दा बढी मत रहेको छ । गण्डकी प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना सदस्य चयन हुनेछन् ।

यस्तै, लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले १८, कांग्रेस १७, माओवादी केन्द्र ५, जसपा, लोसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टी २–२ स्थानमा विजयी भएका छन् । त्यस्तै जनमत पार्टीले १ स्थानमा र ३ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । यहाँ समानुपातिकमा एमाले ५ लाख ७० हजारभन्दा बढी मतका साथ पहिलो स्थानमा छ भने कांग्रेसले करिब ५ लाख मत पाइसकेको छ ।

एकल चिह्नमा चुनाव लडेका माओवादी र नेपाल समाजवादीले करिब २ लाख मत पाएका छन् । त्यस्तै राप्रपाले १ लाख २७ हजारभन्दा बढी र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजारभन्दा बढी मत पाइसकेका छन् ।

जनमत पार्टीले ८१ हजारभन्दा बढी, नेकपा समाजवादीले ४२ हजारभन्दा बढी र जसपाले ६० हजारभन्दा बढी तथा लोसपाले ३७ हजारभन्दा बढी मत पाएका छन् । यहाँ जनमोर्चाले ३२ हजार र हाम्रो नेपाली पार्टीले २७ हजारभन्दा बढी मत पाएका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना सदस्य चयन हुनेछन् ।

यस्तै, कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस ९, माओवादी केन्द्र ९, एमाले ५ र स्वतन्त्र १ जना विजयी भएका छन् । समानुपातिकतर्फ भने नेकपा एमाले १ लाख ८३ हजारभन्दा बढी मतका साथ अगाडि रहेको छ भने नेपाली कांग्रेस १ लाख ७० हजार मतका साथ दोस्रो स्थानमा छ ।

एकल चिह्नमा चुनाव लडेका माओवादी केन्द्र र नेपाल समाजवादी दलको १ लाख ३७ हजारभन्दा बढी मतसहित अगाडि छ । यहाँ नेकपा एकीकृत समाजवादीको ३५ हजारभन्दा बढी र राप्रपाको २५ हजारभन्दा बढी मत आएको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सदस्य चयन हुनेछन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस ११, माओवादी ८, नागरिक उन्मुक्ति ५, एमाले ३, नेकपा समाजवादी २ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् । त्यहाँ समानुपातिकतर्फ एमालेको २ लाख ३३ हजारभन्दा बढी मत आउँदा कांग्रेसको २ लाख २६ हजारभन्दा बढी मत आएको छ ।

यहाँ अहिलेसम्म एकल चिह्नमा चुनाव लडेका माओवादी केन्द्र र नेपाल समाजवादीको १ लाख १३ हजारभन्दा बढी, नागरिक उन्मुक्तिको ८७ हजारभन्दा बढी, नेकपा समाजवादीको ४० हजारभन्दा बढी र राप्रपाको ३६ हजारभन्दा बढी मत आएको छ । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सदस्य हुनेछन् ।

बिज्ञापन