खेलकुद

चोटका कारण विश्वकप गुमाउने खेलाडी

बिज्ञापन

विश्वकप सुरु हुन १२ दिन बाँकी

काठमाडौं : पहिलो पटक जाडो याममा हुन लागेको विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप सुरु हुन १२ दिन बाँकी छ। मध्यपूर्वको उच्च तापक्रमका कारण फुटबल सिजनको बीचमा हुन लागेको विश्वकपका लागि टिम घोषणा हुन थालिसकेका छन्। तर, पछिल्लो समय आसन्न विश्वकपमा निसंकोच उपस्थित हुने आस गरिएका खेलाडीहरू चोटका कारण मैदान बाहिर धेकेलिँदै छन्।

आसन्न विश्वकपमा कतारमा हुने आश गरिएका तर चोटका कारण फुटबलको सबैभन्दा ठूलो अवसर गुमाउन बाध्य केही स्टारहरू यस्ता छन् :

पौल पोग्बा : चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा डिडियर डेस्च्याम्पको टिमका महत्त्वपूर्ण सदस्य पोग्बाले घुँडाको चोटका कारण कतार विश्वकप गुमाउने छन्।

एन’गोलो कान्टे : फ्रान्स विश्व विजेता बन्दा पोग्बा र कान्टेले नै मिडफिल्ड सम्हालेका थिए। यद्यपि, ह्याम्स्ट्रिङका कारण शैल्यक्रिया गराएका कान्टे पनि यसपाली फ्रेन्च टिममा अनुपस्थित रहनेछन्।

बिज्ञापन

डिएगो जोटा: लिभरपुलका फरवार्ड पोर्चुगिज टिमका प्रमुख सदस्य थिए। तर, म्यानचेस्टर सिटीविरुद्धको खेलमा उनको पिँडुलामा समस्या देखिएपछि मैदान बाहिर रहेका जोटा फर्नान्डो सान्तोषको टिममा अनुपस्थित रहनेछन्।

पेड्रो नेटो : वुल्भ्सका फरवार्ड पेड्रो नेटो पनि चोटकै कारण विश्वकप गुमाउने अर्का पोर्चुगिज खेलाडी हुन्। उनले वेस्ट ह्यामविरुद्धको खेलमा लिगामेन्ट च्यातेका थिए, जसकार कारण उनी केही महिना मैदान बाहिर रहनेछन्।

जिनी विनाल्डम : इटालियन क्लब एएस रोमामा डेब्यू गरेको केही दिनपछि खुट्टा भाँचेका डच मिडफिल्डर विनाल्डमले पनि चोटकै कारण विश्वकप गुमाउने निश्चित छ। अर्को वर्ष मात्रै मैदानमा फर्किने आस गरिएका विनाल्डमले विश्वकपसँगै टिममा पनि आफ्नो स्थान गुमाउने सम्भावना छ।

पाउलो डिबाला : थाइको मांसपेशी च्यातिएका कारण केही समययता मैदान बाहिर रहेका अर्जेन्टाइन फरवार्ड डिबालाले कतार विश्वकप गुमाउने निश्चित छ। उनी रोमाका लागि पेनाल्टी प्रहार गर्ने क्रममा घाइते भएका थिए।

गुइहेर्म अरना : गत वर्ष ब्राजिलियन टिमबाट ओलम्पिक गोल्ड मेडल विजेता लेफ्ट ब्याकले घुँडाका कारण विश्वकप गुमाउने छन्। लिगामेन्ट च्यातिएकाले त्यसको उपचारका क्रममा रहेका अरना लामो समय मैदानमा देखिने छैनन्।

टिमो वेर्नर : च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा कुर्कुच्चाको चोटका कारण मैदान बाहिरिन बाध्य वेर्नर ठूलो समस्या नहुनेमा आशावादी थिए। तर, चेकजाँचका क्रममा लिगामेन्ट च्यातिएको देखिएपछि जर्मन फरवार्ड वेर्नरले पनि विश्वकप गुमाउने भएका छन्।

बेन चिलवले : पछिल्लो १२ महिनायता निरन्तर चोटसँग लडिरहेका चिलवेल विश्वकपसम्म फिट हुने आसमा थिए। तर, च्याम्पियन्स लिगअन्तर्गत चेल्सी र डिनामो जाग्रेबबीचको खेलमा ह्याम्स्ट्रिङमा समस्या आएका चिलवलेले पनि विश्वकप गुमाउनेछन्।

पुनरागमनको आशमा भएका खेलाडीहरू

मिकेल ओयार्जबाल : रियाल सोसिडाडका विङ्गर ओयार्जबाल एसीएल इन्जुरीपछि अभ्यासमा फर्किएका छन्। यद्यपि, उनले विश्वकपका लागि स्पेनिस टिममा स्थान बनाउन सहज छैन।

राफेल भरान : चेल्सी र म्याचेस्टर युनाइटेडबीचको खेलमा ह्याम्स्ट्रिङको समस्या देखिएका फ्रेन्च फरवार्ड भरानको उपस्थिति निश्चित छैन।

सन ह्युङ–मिन : टोटनहम र दक्षिण कोरियाली फरवार्ड सन अनुहारमा लागेको चोटका कारण मार्सेविरुद्धको खेलमा सस्ब्टिच्युट भएका थिए। मैदान छाड्नुअघि उनलाई लामो उपचार आवश्यक परेको थियो। त्यसयता मैदान बाहिर रहेका सनले विश्वकप गुमाउने हल्ला चलिरहे पनि उनी पुनरागमनको आसमा छन्।

रिस जेम्स : च्याम्पियन्स लिगको खेलका दौरान घुँडामा चोट लागेका इङ्लिस राइट ब्याक जेम्स अहिले उपचारकै लागि दुबईमा छन्। उनी कतार विश्वकपअघि पूर्णरुपमा तयार हुने आसमै उपचारकै लागि मध्य पूर्व आइपुगेका हुन्।

काइल वाल्कर :  पछिल्लो समय इङ्लिस टिमका भरपर्दा डिफेन्डर वाल्कर ग्रोइन इन्जुरीबाट मुक्त हुने क्रममा छन्। उनी विश्वकपका लागि ग्यारेथ साउथगेटको टिममा पर्ने आसमा छन्।

बिज्ञापन
बिज्ञापन