घटना समाचार

रक्सी, माछा र घुँगी खान नपाएको निहुँमा श्रीमती र छोराछोरीको हत्या !

बिज्ञापन

बारामा एकजनाले रक्सी, माछा र घुँगी खान नपाएको झोँकमा श्रीमती र छोराछोरीका हत्या  गरेको खुलेको छ ।

बाराको प्रसौनी गाउँपालिका– ५ प्रस्टोका ३५ वर्षीय दीपेन्द्र चौधरीले श्रीमतीसँग विवाद हुँदा माछा मार्न खोलामा बोलाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए ।

‘उनले योजनाबद्धरूपमा खोलामा बोलाएर हत्या गरेको देखिएको छ,’ एसपी बोगटीले भने, ‘हामीले हत्यामा प्रयोग भएको चक्कुसमेत फेला पारेका छौं ।’

प्रहरीका अनुसार चौधरीले २७ गते आफ्नी २५ वर्षीया श्रीमती सुजाता चौधरी, ४ वर्षीया छोरी ताहिरा र १६ वर्षीय राजवीरको घाँटी रेटेर हत्या गरेका थिए ।

बिज्ञापन

एसपी बोगटीका अनुसार दीपेन्द्र र सुजाताको मागी विवाह भएको थियो । 

दीपेन्द्रको रोजीरोटीको बाटो नभएकाले उनले माछा र घुँगी मारेर बिहान बेलुकाको छाक टार्दै आएका थिए । श्रीमती सुजाताले पैसा आउने खालका काम गर्दै आएकी थिइन् । 

दीपेन्द्रले कमाइ नगर्ने र सुजाताले कमाइ गर्ने भएकाले उनीहरूबीच सामान्य विषयमा पनि विवाद हुने गरेको दीपेन्द्रका बुवाआमाले प्रहरीलाई बताएको एसपी बोगटीले बताए । 

‘श्रीमतीले कमाएर घर खर्च चलाउने भएकाले दीपेन्द्रलाई खर्च नदिने र यही निहुँमा बेलाबेलामा विवाद हुने गरेको उनका बुवाआमाले बताएका छन्,’ एसपी बोगटीले लोकान्तरसँग भने ।

हत्याको केही दिनअगाडि दीपेन्द्र र सुजाताबीच माछा र घुँगीको विषयमा झगडा भएको अनुसन्धानमा देखिएको छ ।

एसपी बोगटीका अनुसार दीपेन्द्रले माछा, घुँगी र रक्सी खान नदिएको भन्दै विवाद गरेका थिए ।

हत्याको दिन दीपेन्द्रले छोराछोरी र श्रीमतीलाई खोलामा माछा मार्न बोलाएर चक्कुले घाँटी रेटेर हत्या गरी भारत फरार भएको खुलेको छ । तर उनी त्यही रात फर्किएका थिए ।

फर्किने क्रममा आत्महत्याको प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

एसपी बोगटीका अनुसार भारतबाट फर्किँदा सडक किनारामा कुरेर ट्रक आएपछि त्यसको अगाडि हाम फालेर आत्महत्याको प्रयास गरेका थिए । तर, उनी घाइते मात्र भए । त्यसपछि प्रहरीले उनलाई अस्पताल पुर्‍याएको थियो ।

पहिले स्थानीय अस्पतालमा उपचार भएको थियो तर उपचार खर्चमा समस्या आएपछि प्रहरीले आफ्नो निगरानीमा जिल्ला अस्पताल बारामा उपचार गराइरहेको छ ।

‘परिवारले उपचार खर्च बेहोर्न मानेको छैन । हामीले जिल्ला अस्पतालमा हाम्रो नियन्त्रणमा उपचार गरिरहेका छौं,’ एसपी बोगटीले भने ।

दीपेन्द्रविरुद्ध उनका बुवाआमा र सुजाताका माइती पक्षबाट पनि किटानी जाहेरी परेको छ । प्रहरीले मृतक तीनै जनाको पोस्टमार्टम गरेर शव परिवारलाई बुझाएको छ ।

उनीहरूको दाहसंस्कार समेत भइसकेको छ ।

बिज्ञापन
बिज्ञापन