आस्था /आध्यात्म

थारु समुदायमा माघीको रौनक सुरु, मेला आयोजना हुँदै

बिज्ञापन

बुटवल, पुस २४ गते । रुपन्देहीको थारु समुदायमा माघीको रौनक सुरु भएको छ । माघीकै अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना हुने थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीले जनाएको छ । 

बिज्ञापन

यसैबीच, थाकस सैनामैना नगरपालिका रुपन्देहीले पुस २८ देखि ३० गतेसम्म तीन दिने माघी महोत्सव आयोजना गर्नुभएको छ । सैनामैनाको झारबैरास्थित कालिकाचोकमा हुने महोत्सवलाई आकर्षक र प्रभावकारी बनाउन थारु समुदायको नाचदेखि विभिन्न खानाका परिकार प्रदर्शन गरिने थाकसका केन्द्रीय पार्षद् खुसीराम चौधरीले बताउनुभयो । 

विगतभन्दा अहिले फरक रूपमा थारु महोत्सव आयोजना गर्न लागिएको बताउँदै त्यो राजनैतिक आन्दोलनकै रूपमा हुने उहाँको भनाइ छ । उहाँले थारु समुदायको मौलिक एवं परम्परागत खानाका रूपमा रहेका परिकार माघी महोत्सवमा राखिने बताउनुभयो ।  

महोत्सवकै अवसरमा थारु समुदायले रक्तदान कार्यक्रम, अन्तरक्रिया, विभिन्न नृत्य र  खेलकुद प्रतियोगिताको समेत आयोजना गरेका छन् । थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलवहादुर थारुले सैनामैनामा मेला महोत्सव गर्न स्थायी स्थानको अभाव खड्किएको बताउँदै स्थानीय पालिका र सङ्घ संस्थाले त्यस विषयमा सोच्नुपर्ने बताउनुभयो ।

माघीमा थारु समुदायको महत्त्वपूर्ण खानाका रूपमा ढिक्री, अनदीको भुजा, माछाको सिद्रा, माछाको सुकुटी, मासु र घोङ्गी लगायतका फुडस्टल राखिने थाकसले जनाएको छ । माघीको अवसरमा थारु समुदायले खिचडी भात खानुका साथै थारुका स्थानीय परिकार बनाएर विशेष रमाइलो गर्नेगरेका छन् । थारु समुदायले वर्षभरिको ठूलो चाडका रूपमा लिइने माघीकै अवसरमा आफन्तहरू घरमा बोलाउने र रमाइलो गर्ने चलन छ ।

पुस २८ देखि तीन दिन हुने महोत्सवलाई आकर्षक वनाउन थारु समुदायको लोकप्रिय झुम्रा, झर्रा, सोरठी तथा लाठी नाच प्रदर्शन गरिने थारु कल्याणकारी सभाका केन्द्रीय पार्सद खुसीराम चौधरीले बताउनुभयो । उहाँले थारु समुदायको मौलिक एवं परम्परागत खानाका रुपमा रहेको घोङ्गी, अनदीको भुजा, कछुवाको मासु, पतुसनी, ढिक्री, माछाका परिकार र रोटी लगायतका परिकार माघी महोत्सवमा राखिने जानकारी दिनुभयो ।  महोत्सवकै अवसरमा थारु समुदायले रक्तदान कार्यक्रम, अन्तरक्रिया, वडास्तरीय नृत्य प्रतियोगिता र खेलकुदको समेत आयोजना गर्ने भएका छन् । 

बिज्ञापन