राष्ट्रिय समाचार

फागुन अन्तिममा राष्ट्रपतिको चुनाव गर्ने तयारी

बिज्ञापन

१० माघ, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी अगाडि बढाएको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन भएकी थिइन् ।

नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए ।

उनले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै आवश्यक प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह समेत गरेका थिए । मिति घोषणा गर्न आयोगले आज महान्यायाधिवक्ता, गृहसचिव र कानुन सचिवसँग परामर्श समेत गर्दैछ ।

बिज्ञापन

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले मिति तोकेपछि चुनावी गतिविधि र प्रकृया अगाडि बढ्ने छ । अहिलेसम्म आयोगले राष्ट्रपति चुनावको मिति तोकेको छैन । आयोगले मिति तोक्न ढिलाइ गरेकोमा असन्तुष्ट नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई समयभित्रै राष्ट्रपतिको चुनाव सम्पन्न गर्न दबाब दिएको छ ।

यसअघि सभामुख र उपसभामुखमा उम्मेदवार उठाएको विपक्षी दल कांग्रेसले राष्ट्रपति पदमा पनि उम्मेदवारी दिने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा हिजो बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले राष्ट्रपतिमा पनि उम्मेदवार उठाउनेबारे निर्णय गरेको हो ।

सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।

राष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । त्यसअनुसार राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् । जनसंख्याको आधारमा मतभार पनि तोकिएको छ ।

०७८ सालमा भएको जनगणनाको अन्तिम तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभएकाले ०६८ को जनगणनाअनुसारको मतभारअनुसार गणना हुनेछ । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ । राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुनेछ ।

बिज्ञापन
बिज्ञापन